logo
  • बिहिबार, अशोज २२, २०८३ / Thursday, Oct, 08 ,2026

१ लाख घुससहित इन्जिनियर र सुपरभाइजर पक्राउ


  • उज्यालो अभियान

मलंगवा, २२ असोज – सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास, कार्यालयको टोलीले मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर सहायक (चौंथो) कौशलकुमार मधुकरलाई घुस अर्थात् रिसवत रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई सेवाग्राहीसँग लिएको एक लाख रुपियाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

इन्जिनियर र सुपरभाइजरले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख हैरानी दिइ घुस लिएको सूचना तथा उजुरीपछि अख्तियारको टोली मलङ्गवा आइपुगेको थियो । इन्जिनियर यादव र सुपरभाइजर मधुकरबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपियाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता न्यौपानेले उल्लेख गरेका छन् ।

घुससहित पक्राउ परेका इन्जिनियर र सुपरभाइजरलाई अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल, काठमाडौँ लगिएको छ । हिजो साँझ पक्राउ परेका उनीहरुविरुद्ध आज विशेष अदालतबाट भ्रष्टाचारसम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।