logo
  • बुधबार, अशोज २१, २०८३ / Wednesday, Oct, 07 ,2026

गरगहना चोरी आरोपमा तीन नाबालकसहित ४ जना पक्राउ


  • उज्यालो अभियान

गोडैता, २० असोज – सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैताको एक घरबाट एक साताअघि भएको चोरीमा संलग्न चार जना व्यक्ति पक्राउ परेका छन् ।

गोडैता नगरपालिका-८, गोडैता टोल बस्ने नरेश मिश्राको घरबाट यही असोज १३ गते गरगहना चोरी भएको थियो । उक्त चोरीमा संलग्न तीन नाबालक र चोरीको समान किन्ने एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

पक्राउ परेका नाबालकसहित चारै जनाको नाम प्रहरीले गोप्य राखेको छ । मिश्राको घरबाट पाँच लाख ८७ हजार २०० रुपियाँ बराबरको सुनका गरगहना चोरी भएका थिए ।

मिश्राको घरबाट चोरी गरेर बिक्री गरिसकिएको गरगहना बरामद गरिएको डिएसपी गौतमले बताए । उनका चाँदीको पायल दुई थान, सुनको जितिया चार थान, सुनको औँठी एक थान, चाँदीको ठेसा दुई थान, चाँदीको सिक्का एक थान, चाँदीको हनुमानी एक थान र सुनको लेडिज औँठी एक थान बरामद भएको छ ।

सर्लाहीमा विभिन्न समयमा भइरहेका यस्ता चोरीका घटनामा नाबालकहरु पक्राउ पर्ने गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चोरी तथा अपराधका घटनामा नाबालकहरुको बढ्दो उपस्थितिले समाजमा चिन्ता थपिएको छ ।