logo
  • शनिबार, अशोज १७, २०८३ / Saturday, Oct, 03 ,2026

ईश्वरपुर-७ बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना घोषणा


  • उज्यालो अभियान

बयलवास, १६ असोज – ईश्वरपुर नगरपालिका-७ लाई आज नगरपालिकाको चौंथो बालविवाहमुक्त तथा सतप्रतिसत विद्यार्थी विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ ।

बालविवाहमुक्त अभियान संचालन निर्देशिका, २०८२ तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ बमोजिम आज एक समारोहको आयोजना गरी वडालाई बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना भएको घोषणा गरिएको हो । विगत १ वर्षमा वडाभित्र भएका ३१ वटा विवाहमध्ये उमेर पुगेर भएको विवाहको प्रतिसत ९४ प्रतिसत रहेको वडा सचिव सरोजकुमार चौलागाईले बताए ।

वडा सचिव चौलागाईका अनुसार वडाभित्र विद्यालय जाने उमेर पुगिसकेका सम्पूर्ण बालबालिका विद्यालय तथा मदरसामा भर्ना भएर अध्ययन गरिरहेका छन् ।

ईश्वरपुर ७ मा रहेको श्रीमती चन्द्रकुमारी प्राथमिक विद्यालय धनपट्टी डाडाँमा आयोजित कार्यक्रममा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष नाथुराम चौधरीलगायतले संयुक्त रुपमा ब्यानर अनावरण तथा वाचन गरेर बालविवाहमुक्त वडा घोषणा गरेका छन् ।

ईश्वरपुर ७ नं. वडा कार्यालयले अभियान सफल बनाउन सहयोग गर्ने व्यक्ति एवं सङ्घसंस्थालाई आज कार्यक्रमको अवसरमा सम्मान गरेको छ ।

कार्यक्रममा नगरप्रमुख आचार्य, उपप्रमुख चौधरी, वडाध्यक्ष चौधरीलगायतले बालविवाह रोक्न र सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निरन्तर रुपमा यस प्रकारको सक्रियता र समन्वयको जरुरी रहेकोमा जोड दिएका ग्रामीण नारी उत्थान संघकी फिल्ड सुपरभाइजर बिन्दा लुंगेलीले जानकारी दिईन् ।

बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गर्न नगरपालिका, वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघ हरिपुरले समन्वय गरी निरन्तर रुपमा बालविवाहसम्वन्धी सचेतना, विद्यार्थी भर्नालगायतका अभियान चलाउँदै आएका थिए ।

यसअघि ईश्वरपुरको ४, १० र १२ नं. वडा बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा भइसकेका छन् ।