लालबन्दी, १९ असोज – सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका विद्यालयमा कार्यरत एकमुष्ट अनुदान (जिरो दरबन्दी) मा कार्यरत प्रधानाध्यापकहरुले आफूहरुमाथि विभेद नगर्न माग गरेका छन् ।
आज सम्पन्न लालबन्दी नगरभित्रका विद्यालयमा कार्यरत एकमुष्ट अनुदान प्रधानाध्यापकहरुको भेलाले अन्य स्थायी शिक्षकहरुसरह सेवा सुविधा प्रदान गर्न माग गरेका हुन् । जिरोदरबन्दी का विद्यालय प्रधानाध्यापकहरुको भेलाले लालबन्दी १४ मा रहेको जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तरबहादुर गुर्मछानको नेतृत्वमा समिति नै गठन गरेको छ ।
गुर्मछानले वर्षभरीमा प्राप्त १० लाख रुपैयाँ अनुदानबाट सम्पूर्ण शिक्षकहरु पालिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
जिल्लाभरका एकमुष्ट अनुदान अर्थात् जिरो दरबन्दी अन्तर्गत कार्यरत प्रधानाध्यापकहरुलाई एकत्रित गरेर आफूहरुको अधिकारका लागि लड्ने भनी पहिलो पटक आफूहरुले लालबन्दीमा बैठक गरी नगरस्तरीय समिति गठन गरेको गुर्मछानले बताए ।