लालबन्दीस्थित डुमडुमे मन्दिर अगाडि भइरहेको दुर्गा पूजाको तयारी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २१ असोज – सर्लाहीका २० वटै पालिकामा दुर्गा पूजाको भव्य तयारी भइरहेको छ ।
स्थानीय वासिन्दाले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग लिएर अर्थात् चन्दा सङ्कलन गरेर दुर्गा पूजाको तीव्र रुपमा तयारी गरिरहेका हुन् । सर्लाहीका विभिन्न दुर्गा मन्दिर परिसरसँगै चोक, बजारमा दुर्गा पूजाका लागि मञ्च तथा मूर्ति तयार पार्ने काम जारी रहेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजार क्षेत्रका दुईस्थानमा दुर्गा पूजाको तयारी गरिएको छ । लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर परिसर र बजारभित्र रहेको दुर्गा मन्दिर क्षेत्रमा दुर्गा पूजाका लागि धमाधम तयारी भइरहेको हो ।
डुमडुमे मन्दिर परिसरमा आयोजना गरिएको दुर्गा पूजा समितिका अध्यक्ष शक्ति साहले बर्सेनि सहयोग उठाएर दुर्गा पूजा गरिँदै आएको जानकारी दिए । नवरात्रको प्रारम्भ अर्थात् घटनास्थापनाको दिनदेखि दुर्गा पूजा सुरु गरेर विजयादशमीको भोलीपल्ट मूर्ति विर्सजन गर्ने योजना रहेको साहले बताए ।
लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले दुर्गा पूजाका लागि वडा कार्यालयको तर्फबाट पनि आर्थिक सहयोग गर्ने जानकारी दिए । दुर्गा पूजाकै अवसरमा जिल्लाका विभिन्नस्थानमा मेला आयोजना गर्ने गरिन्छ ।
मधेशमा दुर्गा पूजास्थलमा लोपउन्मुख झिझिया नाँच देखाउने प्रचलनसमेत रहेको छ । बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले नगरका दर्जनौँ स्थानमा दुर्गा पूजा तथा मेला आयोजना गर्ने गरिएको बताए ।
ती कार्यक्रममा नगरपालिकाको तर्फबाट बर्सेनि आर्थिक सहयोग गर्दै आइरहेको नगरप्रमुख कटुवालको भनाइ छ । नवरात्रभर हुने दुर्गा पूजा तथा मेलालाई लक्षित गर्दै प्रहरी, प्रशासनले सुरक्षा सतर्कता बढाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले दुर्गा पूजास्थल तथा मेलाहरुमा वादविवाद सिर्जना तथा आपराधिक घटना हुन नदिन प्रहरीले सुरक्षा पहरा प्रदान गर्ने बताए ।
जिल्लाभर मेला आयोजना हुने स्थानहरुको विवरण सङ्कलन गर्ने र सुरक्षा योजना बनाउने काम भइरहेको डिएसपी गौतमले जानकारी दिए ।