जनार्जन खत्री/सर्लाहीको लालबन्दी नगरपालिका –३ जब्दीका श्रीराम महतो कोरोना संक्रमित भएर दुई साता आइसोलेसनमा बसे । पहिलो पटक झेल्नु परेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावित महतोले लालबन्दी नगरपालिकाले बनाएको आइसोलेसनमा दुई साताको अवधि विताएका हुन् । दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अहिले घरमै बसिरहेका छन् ।
महतो कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा अनेकखाले सोँच र विचार सिर्जना भएको सुनाउँछन् । उनले कोरोनालाई परास्त गर्न संक्रमित स्वयंमा उच्च मनोबल र परिवार तथा समाजको सकारात्मक साथ र सहयोगको खाँचो रहेको बताए ।
आफू संक्रमित हुँदा सधै सकारात्मक सोँच र चिकित्सकको सुझाव अनुसार लक्षण बमोजिमको औषधि सेवन गरेर निको भएको उनी बताउँछन् । यस्तै समाजका व्यक्तिहरुले सकारात्मक हौसल्ला र सहयोग गरेकाले आफूलाई संक्रमित हुँदा प्रायः सकारात्मक सोँच विकास भएको महतोको बुझाई छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरका बच्चेलाल राय यादव पनि कोरोना संक्रमित भई दुई साता होम आइसोलेसनमा बसे । यादवले भने कोरोना संक्रमित भएपछि परिवारले साथ सहयोग गरेपनि छिमेकीले हेलाको दृष्टीले हेर्दा गलत मनोसामाजिक असर परेको बताए ।
नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी कोरोना संक्रमणबारे समाजमा अझै पनि धेरै मानिसमा सचेतना नरहेको र बुझाई पनि नकारात्मक रहेको बताउँछन् । उनले संक्रमित भएका व्यक्तिमाथि संक्रमणमुक्त भएपछि पनि नकारात्मक सोँच राख्ने र आफूले पनि स्वास्थ्य सावधानी नपनाउने परिपाटी धेरै देखिएको बताए ।
चौधरीले पहिलो पटक संक्रमण भोग्दा र रोजगारी गुमेर घरमै बस्नुपर्दा मनोमाजिक असर पर्नुका साथै घरेलु हिंसाका घट्नामा वृद्धि भएको बताए । झै–झगडा गर्ने, जुवातास बढी खेल्ने, रक्सी सेवन गरी कुटाकुट गर्ने, परिवारको महिला सदस्यलाई भान्सादेखि अन्य काममा बढी प्रयोग गर्ने परिपाटी देखिएको चौधरी बताउँछन् ।
नागरिक समाजका महासचिव चौधरीले भने जस्तो यो समस्या जिल्लाभर नै देखिएको छ । कोरोना संक्रमण बढेपछि स्थानीय प्रशासनबाट निषेधाज्ञा जारी भएपश्चात समाजमा अनेक किसिमका सामाजिक समस्याहरु बढेको देखिन्छ ।
मलंगवास्थित आइसोलेसनमा खटिएका डा. रवी कुमार साह पहिलो पटक कोरोना भाइसको संक्रमण भोग्नु पर्दा विभिन्न सिकाईहरु भएका सुनाउँछन् । उनले आफूहरु संक्रमितको उपचारमा खटिँदा उनीहरु संक्रमणबाट त्रर्सिएको, स्वास्थ्य बिग्रन्छ की भनेर चिन्तित भएको र अब मलाई समाजले कसरी हेर्छ भन्ने जस्ता विचार बोकेर आइसोलेसनमा बसेको अनुभव सुनाउँछन् ।
शरीरमा कुनै खाले लक्षण नदेखिएका संक्रमितहरुहरुमा भने मानसिक स्वास्थ्य अवस्था सामान्य नै पाइएको डा. साहले बताए । उनले मनोपरामर्शको खाँचो देखिएका र सामान्य अवस्थामा भन्दा फरक व्यवहार देखाएका संक्रमितहरुलाई आफूहरुले काउन्सेलिङ समेत गरेको बताउँछन् ।
जिल्लामा केही संक्रमितलाई होम आइसोलेसनमा पुगेर समेत काउन्सेलिङ गरिएको छ । उनीहरुलाई मानसिक स्वास्थ्य समस्याबारे काउन्सेलिङ गर्न मनोसामाजिक परामर्शकर्ता नै परिचालन गरिएको छ ।
सर्लाहीका मनोसामाजिक परामर्शकर्ता दुर्गा भट्राई केही संक्रमितलाई मात्रै मनोसामाजिक परामर्श दिनुपरेको बताउँछन् । उनले विशेषगरी होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै पुगेर काउन्सेलिङ बताए ।
त्यसक्रममा आफूहरुले संक्रमितलाई केही दिनपछि नै तपाई संक्रमणमुक्त भएर सामान्य अवस्थामा पर्किनु हुन्छ, तपाईको परिवार हामी सबै समाज तपाईको साथमा छौँ, आइसोलेसनमा बस्दा केही नराकात्मक नसोच्नुस्, मोवाइल तथा टेलिभिजनमा रचनात्मक र सकारात्मक विषय वस्तुका भिडियो हेर्नुहोस्, परिवारका सदस्य तथा आफन्त र साथीभाइसँग बेला–बेलामा फोनमा कुरा गर्नुहोस्, भिडियो गर्नुहोस् जस्ता कुरा भनेर काउन्सेलिङ गरेको भट्राईको भनाई छ ।
उनले आफू सर्लाही र अन्य छिमेकी जिल्लासम्म पनि पुगेर कोरोना संक्रमितहरुलाई मानसिक स्वास्थ्य समस्या आउन नदिन काउन्सेलिङ गरेको र त्यसबाट सकारात्मक प्रभावहरु परेको आफूले पाएको बताएका छन् । उनले सबै संक्रमितलाई परामर्शको खाँचो पनि नदेखिएको बताए ।
संक्रमितले एक्लो महसुस गरेमा, सामान्य अवस्थाको भन्दा फरक व्यवहार गरेमा आफूले स्वास्थ्य मापदण्ड पालना गरी आइसोलेसमा पुगेर काउन्सेलिङ गरेको बताए ।
संक्रमणबाट भयवित भएका संक्रमितलाई काउन्सेलिङको खाँचो देखिएको भट्राईले बताए । उनले विभिन्न पालिकाहरुमार्फत आफूले आइसोलेसनमा पुगेर संक्रमितहरुलाई काउन्सेलिङ गरेको र काउन्सेलिङ पाएपछि धेरै व्यक्तिमा उत्साह र सकारात्मक सोँच वृद्धि भएको पनि सुनाए ।
सलाही बागमती नगरपालिका निवासी अर्की मनोसामाजिक परामर्शकर्ता सरिता लामा पनि पहिलो पटक संक्रमण भोग्नुपर्दा मानिसमा मानसिक स्वास्थ्य समस्या देखिएको बताउँछिन् । तर काउन्सेलिङपछि र परिवार तथा आफन्तको निरन्तरको हौसल्लाले संक्रमितको अवस्था सामान्य देखिएको अनुभव उनी सुनाउँछिन् ।
उनले छरछिमेकी तथा समाजका अन्य मानिसले गलत नजर र हेलाको दृष्टिले हेरिदिँदा भने संक्रमितको मानसिक स्वास्थ्यमा अनेक प्रभाव पाइएको बताईन् । उनले हेला गरिएका संक्रमित र सबैको माया तथा हौसल्ला पाएका संक्रमितको आफूहरुसँग कुरा गर्ने तरिका नै फरक पाइएको बताइन् ।
उनले नकारात्मक सोँच राखेका र अझ हिंसा भोगेका व्यक्तिहरुलाई काउन्सेलिङ गरेपछि सकारात्मक प्रतिक्रियाहरु जनाउने, आत्मबल अझ उच्च राख्ने जस्ता सकारात्मक पक्षहरु पनि आफूहरुले भेट्टाएको बताईन् । समाजले सकारात्मक प्रतिक्रिया जनाइदिने र आइसोलेसनमा बसिरहँदा स्वास्थ्य मापदण्ड पालना गरेर भेट गर्ने, सामाजिक संजालमार्फत कुराकानी गरिदिने गरिदिँदा संक्रमितको मानसिक र शारीरिक अवस्था राम्रो देखिएको बताईन् ।
संक्रमित नभएका व्यक्तिमा पनि अहिले पहिलो पटक देखिएको कोरोना संक्रमणले मानसिक स्वास्थ्य समस्या गराएको लामाले बताईन् । अब म पनि संक्रमित हुन्छु की, संक्रमित भएपछि मलाई परिवार र समाजका मानिसले कस्तो व्यवहार गर्ने हुन्, निषेधाज्ञाले गर्दा अहिले रोजगारी पनि गुम्यो, अब कसरी पेट पाल्नेहोला, फेरि सामान्य अवस्थामा फर्किन्छौँ की फर्किदैनौँजस्ता सोँचहरुको विकास भएको बताउँछिन् ।
उनले यस्तो अवस्थामा मानसिक स्वास्थ्य समस्या बढ्ने संभावना धेरै हुने बताइन् । त्यसैले यो बेला मानसिक स्वास्थ्य समस्या आउन नदिन कोरोना संक्रमणसँग जोडिएका समाचार तथा विषय वस्तु धेरै पढ्ने र सुन्ने नगर्ने, दिमागमा सकारात्मक प्रभाव पर्ने र उर्जा दिने खालका विषय वस्तुहरु हेर्ने तथा सुन्ने, स्वास्थ्य मापदण्ड पालना गरेर गर्न सकिने काम गर्ने, प्रविधिको प्रयोग गरेर घरमै गर्न सकिने कामहरु गर्न, परिवारका सदस्यबीच रमाईला गफगाफ गर्ने जस्ता काम गर्न सकिने लामाको सुझाव रहेको छ ।
सर्लाहीको गोडैता नगरपालिका निवासी महिला अधिकारकर्मी रम्भा कुमारी झा यही समयमा अहिले समाजमा महिला हिंसा र अन्य अन्यायका घटना वृद्धि भएर गएको बताउँछिन् । उनी परिवारका सदस्य सबै घरमा भएको बेला झन् बढी हिंसा भइरहेको दावी गर्छिन् ।
कोरोना संक्रमणका बेला परिवारका सबै सदस्य जम्मा भएका र यो समयमा महिलाहरुले अझ बढी माया, सद्भाव र सहयोग पाउनु पर्ने ठाउँमा उल्टै घरायसी काममा बढी लगाइएको र कतिपय महिलाहरुले कुटपीट तथा लान्छना समेत सहनु परेको उनी सुनाउँछिन् । यो अवस्था ग्रामीण र शहरी दुवै क्षेत्रमा उत्तिकै मात्रामा रहेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ ।
निषेधाज्ञाले गर्दा प्रहरी चौकीहरुमा पनि गम्भीर प्रकृतिका मात्रै घटनाहरु दर्ता भएर कारवाही प्रक्रिया अघि बढेको छ । त्यसले गर्दा यो समयमा पीडित भएका महिलाहरुले बेलैमा र सहज किसिमले न्याय नपाउँदा उनीहरुमा मानसिक समस्या पनि देखिएको महिला अधिकारकर्मी झा बताउँछिन् ।
अरु बेला स्थानीय तहहरुमा न्यायीक समितिले समेत विवादको समाधान तथा निरुपण गर्ने गरेको छ । तर कोरोना संक्रमणपछि निषेधाज्ञा जारी भएको र त्यसले गर्दा स्थानीय तहका न्यायिक समिति सक्रिय हुन सकेका छैनन् ।
न्यायिक समिति निष्कृय भइदिँदा घरेलु हिंसा सहेर बसेका महिलाहरु थप पीडित हुनु परेको अधिकारकर्मीहरु बताउँछन् । पीडित महिलाहरुलाई यो बेला थप हिंसा भोग्नबाट जोगाउन र उनीहरुमा मानसिक तथा शारीरिक असर रोक्न स्थानीय तहहरु नै जागरुक हुनुपर्ने महिला अधिकारकर्मी झाको भनाई छ ।