logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

हत्या गरेर फरार अभियुक्त १० वर्षपछि पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ११ कात्तिक – सर्लाहीको रामनगरमा १० वर्षअघि भएको एक हत्याको घटनामा संलग्न अभियुक्त अहिले पक्राउ परेका छन् ।

कर्तव्य ज्यान कसूरमा १० वर्षदेखि फरार रहेका रामनगर गाउँपालिका ३ (साबिकको रामनगर बहुअर्बा) बस्ने ५५ वर्षीय विजय रायलाई प्रहरीले पक्राउ गरेको हो । रायसहितको संलग्नतामा २०७३ साल चैत १३ गते रामनगर गाउँपालिका ४ बस्ने नागेन्द्रकुमार प्रसादको हत्या गरेका थिए ।

विजय रायसहितको कुटपिटबाट गम्भीर घाइते नागेन्द्रकुमारको सोही साल चैत २३ गते उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल काठमाडौँमा मृत्यु भएको थियो । उक्त घटनापछि फरार रहेका विजय रायलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

विजय रायलाई कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागार कार्यालय मलङ्गवा चलान गरिएको इन्स्पेक्टर केसीले बताए ।