मुकेश झा/हरिपुर्वा, ०२ असोज – सर्लाहीको हरिपुर्वा नगरपालिकास्थित नगर अस्पताल हरिपुर्वामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
भरतपुर आँखा अस्पतालसँग समन्वय गरी शुक्रबारदेखि औपचारिक रुपमा आँखा उपचार केन्द्र संचालनमा ल्याइएको हो । आँखा उपचार केन्द्र स्थापना भएसँगै स्थानीयस्तरमा आँखाका बिरामीलाृई सामान्य उपचारका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता हटेको हरिपुर्वा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख लालबाबु रायले जानकारी दिए ।
आँखा उपचार केन्द्रको शुक्रबार नगरप्रमुख विनोदकुमार साहण तेलीले उद्घाटन गरेका हुन् । आफूहरुले निरन्तररुपमा भरतपुर आँखा अस्पतालसँग समन्वय गरी आँखाका रोगीको उपचारका लागि आवश्यक पर्ने उपकरण तथा औषधि र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको नगरप्रमुख साहले बताए ।
नगर अस्पतालमा स्थापना भएको आँखा उपचार केन्द्रमा नियमित आँखाको परीक्षणसँगै बेलाबेलामा मोतीविन्दुको अप्रेसनको व्यवस्थासमेत मिलाइने अस्पतालले जनाएको छ । सर्लाहीमा भरतपुर आँखा अस्पतालसँगको समन्वयमा ईश्वरपुर नगरपालिकास्थित बयलवासमा पनि यस्तै प्रकारको आँखा उपचार केन्द्र संचालन भइरहेको छ ।