logo
  • शनिबार, कार्तिक १, २०८३ / Saturday, Oct, 17 ,2026

चाडपर्वको शुभकामना आदानप्रदान : १९२ जनाको स्वास्थ्य परीक्षण


  • उज्यालो अभियान

हरिवन, ३१ असोज – सर्लाहीको हरिवन नगरपालिका ८ स्थित स्वास्थ्य चौकीमा हिजो दशैँ, तीहार र छठ पर्वको शुभकामना आदानप्रदानसँगै निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिको आयोजनामा चाडबाडको शुभकामना आदानप्रदान र सुगर, प्रेसरजस्ता रोगको निःशुल्क चेकजाँच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १९२ जनाले सुगर, प्रेसरको निःशुल्क जाँच गर्न पाएका छन् । जसमध्ये ८ जना नयाँ सुगरका बिरामी फेला परेका छन् ।

सोही कार्यक्रममा हरिवन चौकीका इन्चार्ज श्यामविनोद कुशवाहालाई वडावासीको तर्फबाट उत्कृष्ट तबरले स्वास्थ्य चौकी व्यवस्थापन गरेकोप्रति अभिनन्दन अर्थात् सम्मान गरिएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति खगेन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य चौकी व्यवस्थापन समितिकी उपाध्यक्ष सोनी गुर्मछानले राखेकी थिईन् ।

कार्यक्रममा राजनीतिज्ञ तथा सामाजिक व्यक्तित्वहरु विदुरकुमार प्याकुरेल, जयशंकर सिंह, कृष्णप्रसाद भट्टराई, चूडामणि वाग्ले, जिनलब मोक्तान, अग्नी भट्टराई, कृष्ण श्रेष्ठ, दधिराम पौडेल, मोहन कार्की, दुर्गाहरि पौडेल, पार्थमणि भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।