logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कपडा व्यापार गर्ने हौँ भन्दै भाडामा बसे, तर सुनपसल चोरी गर्दा ५ दिनै पक्राउ


  • उज्यालो अभियान

हरिवन, १२ कात्तिक – सर्लाहीको हरिवनमा कपडा व्यापार गर्ने मानिस हौँ भन्दै कोठा भाडा गरेर बस्न आएका दुई भारतीय युवक सुन पसलमा चोरी गर्दा समातिएका छन् ।

हरिवन नगरपालिका–११, हरिवन बजारमा हरिवन–७, का सुरज साहले संचालन गरेको रिद्धीसिद्धी ज्वेलर्स (सुनचाँदी पसल) मा गएराति चोरी भएको थियो । उक्त चोरीमा संलग्न दुई भारतीय युवकलाई प्रहरीले आज बिहान ४ बजेतिर नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेहरुमा भारतको मोतिहारी थाना आदापुर पञ्चायत औरहिया–११ बस्ने २५ वर्षीय जुनैद अंसारी र मोतिहारी थाना झरोखर पञ्चायत आठमोहनी–१२ बस्ने २८ वर्षीय रियाज अंसारी रहेका छन् । उनीहरुलाई रिद्धीसिद्धी ज्वेलर्सबाट सुनका गरगहना चोरी गरेर कोठामा राखेर फेरि अन्य पसलहरुमा चोरी गर्न आउँदा पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाले जानकारी दिए ।

इन्स्पेक्टर बर्तौलाका अनुसार सुन पसलमा चोरी गर्ने अंसारी द्वय पाँच दिनअघि मात्र हरिवनमा आएर कपडाको व्यापार गर्ने भनी कोठा भाडा गरेर बसेका थिए ।

दुई भारतीयले रिद्धीसिद्धी ज्वेलर्सबाट चोरी गरेको सुनका गरगहनाहरु : पेन्डल ३५ थान, औँठी चार थान, मोती क्लिप एक थान, चन्द्रमा आठ थान, खुकुरी एक थान, तिलहरी एक थान, नौगेडी एक थान, बेबी माला एक थान, कानको टप ३९ थान, सुनको जस्तो देखिने नक्कली हार एक थान, फलाम काट्ने कटर एक थान र एक थान मोवाइल फोन बरामद भएको छ ।

भारतीय नागरिक अन्सारी द्वय यसअघि यस प्रकारका कुनै चोरीका घटनामा संलग्न भए/नभएकोबारे खुल्न बाँकी रहेको छ ।