मलंगवा, ११ कात्तिक – सर्लाहीको २० वटै पालिकाका स्वास्थ्य शाखा संयोजकहरुले स्वास्थ्य कार्यालय मलंगवामा कार्यालय प्रमुख पठाइदिन माग गरेका छन् ।
हाल मधेश प्रदेशभरका स्वास्थ्य कार्यालयहरुमध्ये सर्लाही उत्कृष्ट स्थान हाँसिल गरेको अवस्थामा कार्यालय भने लामो समयदेखि प्रमुखविहीन हुँदा कर्मचारीको मनोवल खस्किएको पालिकाको स्वास्थ्य शाखाका संयोजकहरुले उल्लेख गरेका छन् । स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा बढुवा भइ मधेश स्वास्थ्य निर्देशनालयको निर्देशकका रुपमा पदस्थापन भएसँगै जिल्लास्थित स्वास्थ्य कार्यालय भने प्रमुखविहीन बनेको हो ।
हाल कार्यालयका सिनियर कर्मचारी एवं वरिष्ठ तथ्याङ्क अधिकृत लालबाबु रायले निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । पालिकाका स्वास्थ्य शाखा संयोजकहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेश प्रदेश र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशलाई अनुरोध तथा ध्यानाकर्षण गराउँदै स्वास्थ्य कार्यालय प्रमुखविहीन हुँदा परेको समस्याबारे अवगत गराएका छन् ।
पत्रमा स्वास्थ्य कार्यालय सर्लाहीमा दरबन्दी अनुरुप जनस्वास्थ्य प्रशासकलाई प्रमुखको जिम्मेवारी दिएर पठाउन वा नियम संगत कार्यालयमै कार्यरत सबैभन्दा वरिष्ठ कर्मचारीलाई आर्थिक अधिकारसहितको निमित्त तोकिदिन माग गरिएको छ । कनिष्ट कर्मचारीलाई जिम्मेवारी दिइएमा घोर आपत्ति जनाउने पालिकाका स्वास्थ्य शाखा संयोजकहरुको चेतावनी छ ।
कार्यालयका निमित्त प्रमुख एवं वरिष्ठ तथ्याङ्क अधिकृत लालबाबु रायले आर्थिक अधिकार नहुँदा कार्यालयको नियमित तथा प्रशासनिक कामकाजसहित कार्यक्रमहरु सञ्चालन गर्न समस्या परेको गुनासो गरेका छन् । कार्यालय प्रमुख नहुँदा कर्मचारीहरुले दशैँका बेलासमेत तलब, भत्ता प्राप्त गर्न नसकेका उनले बताए ।