लालबन्दी, २३ असोज – सर्लाहीको लालबन्दीमा आर्थिक समस्याका कारण दुवै मृगौला (किड्नी) फेला भएकी महिलाको उपचारमा समस्या परेको छ ।
मृगौला बिग्रिएर छ महिनादेखि थलिएकी लालबन्दी नगरपालिका-६, पाख्रिन टोल निवासी ३६ वर्षीया सपना सुनुवार उपचारबाटै बन्चित हुने अवस्था आएको हो । हप्तामा दुई पटक मृगौला डायलाइसिस गर्नुपर्ने भए पनि पैसा नभएर एक महिनादेखि हप्तामा एक पटक अस्पताल लैजान पनि समस्या परेको सपनाका श्रीमान चेतबहादुर सुनुवारले गुनासो गरेका छन् ।
नजिकका सरकारी अस्पतालहरुमा पालो नपाएपछि सपनालाई मृगौला डायलाइसिसका लागि बाराको सदरमुकाम कलैयास्थित एलएस न्यूरो अस्पताल लैजाने गरिएको छ । सपनाका श्रीमान चेतबहादुरले उज्यालो अभियानसँग भने, “अस्पतालले हप्तामा दुई पटक ल्याउनु भनेको छ तर पैसा नभएर हप्तामा एक दिन लैजान पनि मुस्किल छ ।”

घरबाट नजिक पर्ने प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा डायलाइसिसका लागि पालो पारिदिन हारगुहार गरे पनि सुनुवाइ नभएको चेतबहादुरको गुनासो छ । छिमेकी पालिका ईश्वरपुरको नगर अस्पताल बयलवासमा समेत भर्खरै डायलाइसिस सुरु भएकाले त्यहाँ पनि पालो पारिदिन आग्रह गरेको तर आफ्नै नगरपालिकाभित्रका बिरामीलाई नै ठाउँ दिन नसकेको जवाफ आएको उनले बताए ।
डायलाइसिससका लागि लैजाँदा रगत चढाउनुपर्ने र औषधि किन्नुपर्ने हुन्छ । एलएस न्यूरो अस्पतालले डायलाइसिस भने निःशुल्क नै गरिदिएको चेतबहादुरले बताए ।
कलैयासम्म पुगेर आउन एक पटकमा बिरामी र आफ्नो एक हजार दुई सय रुपियाँ बस भाडा लाग्ने र अस्पतालमा औषधि तथा रगतका लागि चार हजारभन्दा बढी खर्च लाग्ने गरेको चेतबहादुरले गुनासो गरेका छन् । एकै हप्तामै त्यतिधेरै खर्च गर्ने क्षमता नै नरहेको उनको दुःखेसो छ ।

गाउँमा चन्दा उठाएर तथा बजार क्षेत्रमा मागेर प्राप्त भएको ५५ हजार र बिदेशबाट मनकारीहरुले पठाइदिएको ५२ हजार रुपियाँ उपचारमा खर्च भइसकेको चेतबहादुरले बताए । सुरुमा छिमेकी र गाउँले मिलेर चन्दा उठाइदिए पनि अब हामीहरु ब्यस्त भयौँ, तपाईले नै उठाउनु भनेपछि आफूलाई श्रीमती रुङ्ने कि चन्दा माग्न जाने भन्ने समस्या परेको उनको भनाइ छ ।
भारतको नयाँदिल्लीमा मजदुरी गर्ने चेतबहादुर श्रीमती बिरामी भएपछि छ महिनादेखि घरमै छन् । चेतबहादुर आफैमा पनि सानैदेखि हात्तखुट्टा काम्ने समस्या छ ।
चेतबहादुर र सपनाका छ वर्ष र तीन वर्षका दुई छोरीहरु रहेका छन् । परिवारमा अन्य सदस्य छैनन् ।
चेतबहादुरको मजदुरी खोसिएको र सपनाको उपचारमा ठूलो रकम आवश्यक पर्न थालेपछि सुनुवार परिवार संकटमा परेको हो । मृगौला पीडित बिरामीलाई नगरपालिका कार्यालयबाट मासिक पाँच हजार रुपियाँ उपलब्ध गराउने भए पनि सो रकम तीन महिनामा एकमुष्टमा आउने भएकाले हप्तामा दुई दिन डायलाइसिस खर्च जुटाउन नसकेर श्रीमतीलाई अस्पताल जान नसकेको चेतबहादुरको भनाइ छ ।

सुनुवार परिवारको सम्पत्तिका नाउमा छ धुरमा बनेको कच्ची मात्र छ । जीवन–मरणको दोसाँधमा रहेकी श्रीमती सपनाको उपचारमा सहयोग गरिदिन चेतबहादुरले याचना गरेका छन् ।
उनले आफ्नो श्रीमतीको नाउमा एनएमबी बैङ्क लालबन्दी शाखामा रहेको बैंक खातामा रकम जम्मा गरिदिएर तथा आफूलाई ९७०२४१३६३२ नम्वरमा सम्पर्क गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।