logo
  • शनिबार, अशोज ३, २०८३ / Saturday, Sep, 19 ,2026

मेयर र सिडिओले गरे नगरपालिकाको भवन उद्घाटन


  • उज्यालो अभियान

मुकेश झा/ हरिपुर्वा, ०२ असोज – सर्लाहीको दक्षिणपूर्वी भेगस्थित हरिपुर्वा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज बिहान उद्घाटन गरिएको छ ।

हरिपुर्वा ५ स्थित आयुर्वेद औषधालयको परिसरमा निर्माण गरिएको २ तले प्रशासनिक भवनको नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी भएर संयुक्तरुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्री, वडाध्यक्षहरु, कर्मचारी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश अर्यालले सबैको साथले ढिलै भए पनि प्रशासनिक भवन निर्माण गर्न सफल भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले बजारमै बनेको प्रशासनिक भवनले सेवाग्राहीलाई सहज हुने बताएका छन् ।

नगरप्रमुख विनोदकुमार साह तेलीले निर्वाचनका बेला गरेको वाचाअनुसार नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न सफल भएको उल्लेख गरे ।

नौँ वर्षदेखि साँघुरो भाडाको घरबाट हरिपुर्वा नगरपालिकाको कार्यालय संचालनमा रहेको थियो । नगरपालिकाले आफ्नै बजेट १ करोड ५१ लाख रुपैयाँ खर्चिएर दुई तले १० कोठे प्रशासनिक भवन निर्माण गरेको प्राविधिक शाखा प्रमुख एवं इन्जिनियर दिलिपकुमार यादवले जानकारी दिए ।

नवनिर्मिति प्रशासनिक भवनमा सभाहल, पार्किङलगायतका संरचना निर्माण गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हरिपुर्वा नगरपालिका कार्यालयले जनाएको छ ।

प्रशासन शाखा प्रमुख डोरबहादुर तामाङले संचालन गरेको कार्यक्रममा नगरप्रमुख साह, प्रमुख जिल्ला अधिकारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत अर्याल, शिक्षा अधिकृत एवं सूचना अधिकारी जनक काफ्‌ले, वडा नं. ८ का वडाध्यक्ष रामेश्वर रायलगायतले मन्तव्य व्यक्त गरे ।