मलंगवा, १५ कात्तिक – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले ठीक ढंगले संचालन नभएको र अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको बताएका छन् ।
सर्लाही सदरमुकाम मलंगवामा आज पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै पछिल्लो समयका केही गतिविधिले संविधान र लोकतन्त्रको रक्षा नै चूनौतिपूर्ण बनेको प्रचण्डले बताएका हुन् ।
प्रचण्डले कार्यकर्तामाझ फेरि पनि जनतासँगको सम्वन्ध सुधार गरेर पार्टीलाई शक्तिशाली बनाउने दावी गरे । उनले देशभर नयाँ चेतना फैलाउन घरदैलोसहित राष्ट्रव्यापी आन्दोलनको तयारीमा समेत जुटेको कार्यकतासँग बताए ।
सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपाका सह–संयोजक माधवकुमार नेपालले पैँतीस वर्षमा केही भएर भनेर पुराना राजनीतिक दल तथा राजनीतिज्ञलाई नराम्रो देखाउने प्रयास भइरहेको गुनासो पोखे ।
उनले सरकारलाई स्टन्ट र तर्साउने काम बन्द गरेर युवालाई रोजगारी सिर्जना गर्ने, किसानको समस्या समाधान गर्ने र उद्योग कलकारखाना संचालनतर्फ ध्यान दिन सुझाय ।