logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रानीगन्जमा तरकारी बजार संचालन, हरेक आइतबार हाट लाग्ने


  • उज्यालो अभियान

वुद्धबहादुर विश्वकर्मा (दीपक), १५ कात्तिक – लालबन्दी नगरपालिका–१७, रानीगन्जमा आजदेखि तरकारी बजार संचालनमा ल्याइएको छ ।

रानीगन्जस्थित हाइवेकै आडमा देवता महाकाली गुठीको जग्गामा अब दिनहुँ तरकारी बजार लाग्ने भएको छ । उक्त बजारको आज मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले औपचारिक उद्घाटन गरेका हुन् ।

बजारको संरचना तयार भएको दुई वर्षपछि आजदेखि संचालनमा ल्याइएको हो । बजार समितिका अध्यक्ष रामबहादुर खड्काले प्रत्येक दिन तरकारीको किनबेच हुने र आइतबार खसी, बोकाको किनबेचसहित हाटबजार राख्ने योजना रहेको उज्यालो अभियानसँग बताए ।

वडा कार्यालय, नगरपालिका, मधेश प्रदेश सरकार र संघीय सरकारको करिब एक करोड नौ लाख रुपैयाँ लागतमा रानीगन्ज तरकारी बजारका संरचना तयार पारेर संचालनमा ल्याइएको लालबन्दी १७ का वडाध्यक्ष विष्णुहरि अधिकारीले बताएका छन् । देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर र ३६ वटा स्टलसहितको कृषि सेड तयार पारिएका छन् ।

बजार उद्घाटन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, पूर्व प्रमुख मानबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललगायतको आतिथ्यता रहेको थियो ।