logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

मलंगवामा १५ लाखको पटका बरामद


  • उज्यालो अभियान

मलंगवा, १३ कात्तिक – सर्लाहीमा सशस्त्र प्रहरीले गएराति सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटका बरामद गरेको छ ।

नजिकिँदो तीहार तथा छठ पर्वलाई लक्षित गरी भित्र्याइएको पटका सशस्त्र प्रहरीले मलंगवा नगरपालिका-१, भेडेहियाबाट बरामद गरेको हो । नेपाल-भारत सीमा दशगजा नजिकै रहेको देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा लुकाइराखिएको अवस्थामा १५ लाख रुपैयाँ बराबरको पटका बरामद भएको सशस्त्र प्रहरी बल नं. १० गण हेडक्वाटरका गणपति एवं सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले जानकारी दिए ।

अवैध समान लुकाइछिपाइ राखिएको सूचना पाएपछि सीमा सुरक्षा गुल्म मलंगवा, नं. १० गण अगर्बा सर्लाही र बोर्डर आउट पोष्ट खुटौनाबाट ६२ जनाको संयुक्त टोली घर तथा गोठमा खानतलासी लिन पुगेको थियो । सो स्थानबाट १५ लाख बराबरको अवैध पटकासहित दुई लाख ३५ हजार रुपैयाँ बराबरको कपडासमेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक खत्रीले उज्यालो अभियानसँग बताए ।

बरामद भएका कपडा आज भन्सार कार्यालय मलंगवामा बुझाउने र पटका नष्ट गर्ने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । तीहार तथा छठलाई लक्षित गर्दै भारतबाट विष्फोटक पदार्थ पटका भित्रन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।