logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाही र रौतहट प्रशासनले बागमती नदी किनारमा नजान गरे आग्रह


  • उज्यालो अभियान

बागमती, १४ कात्तिक – कुलेखानीमा पानी बढेसँगै तल्लो तटीय क्षेत्र सर्लाही र रौतहटमा उच्च सतर्कता अपनाइएको छ ।

सर्लाही र रौतहटका जिल्ला प्रशासन कार्यालयले अहिले दउँसो सूचना जारी गर्दै बागमती नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको भनी मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएपछि बागमती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको बताए ।

कुलेखानी प्रथम जलविद्युत केन्द्र मकवानपुरबाट प्राप्त पत्र अनुसार कुलेखानीमा शनिबार मध्याह्न १२ बजेको रेकर्ड अनुसार जलसतह १५२८.१५ मिटर पुगेको छ । पानीको हालको बहाव र जलाशयमा भइरहेको वृद्धिदरका आधारमा शनिबार अपराह्न ४ बजेसम्म जलसतह १५२९.०० मिटरसम्म पुग्ने सक्ने देखिएको जलविद्युत केन्द्रले जनाएको छ ।

जलाशयको जलसतह १५२८.५० मिटर पुगेपछि पूर्व सतर्कतास्वरुप पहिलो साइरन चेतवानी बजाइने र एसएमएस पठाइने छ । पानीको सतह बढ्दै गए कुलेखानी ड्यामका मुख्य ढोकाहरु खोल्नुपर्ने हुनसक्ने र त्यसबाट तल्लो तटीय क्षेत्र सिस्नेरी खोला तथा बागमदी नदीमा पानीको बहाव आकस्मिक बढ्न सक्छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय रौतहटले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै बागमती नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरेको रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फूँयालले बताए ।