logo
  • शुक्रबार, अशोज २३, २०८३ / Friday, Oct, 09 ,2026

सर्लाहीका २० वटै पालिकामा पुगे सांसद, ‘हामी आउँदै छौँ’ अभियान 


  • उज्यालो अभियान

हरिवन, २२ असोज – केन्द्रीय सरकार चलाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ’ अभियान सर्लाहीका २० वटै पालिकामा संचालन गरिएको छ ।

हिजो र आज दुई दिनमा केन्द्रबाट खटाइएका तीन जना सांसद २० वटै पालिकामा पुगेका हुन् । रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु राजकिशोर महतो, अरविन्द साह र शम्भुकुमार यादव हामी आउँदै छौँ अभियान लिएर जिल्लाका सबै पालिकामा पुगेका छन् । उनीहरु तीनै जना भएर बुधबार जिल्लाको लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, हरिपुर्वा, पर्सा, ब्रम्हपुरी र मलङ्गवासहित ७ वटा पालिकामा पुगेका थिए ।

आज भने तीन जना सांसद बाँडिएर बाँकी १३ वटा पालिकामा पुगेका हुन् । सांसद शम्भु यादवले हरिपुर, कविलासी, कौडेना र विष्णु, सांसद राजकिशोर महतोले गोडैता, धनकौल, रामनगर र बलरा, सांसद अरविन्द साहले चक्रघट्टा, बसबरिया, बरहथवा र बागमतीमा हामी आउँदै छौँ अभियान लिएर पुगेका छन् ।

अन्तिममा साँझ हरिवनमा भएको कार्यक्रममा तीनै जना सांसद सहभागी भएका राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीका सभापति सरोज बानियाँले जानकारी दिए ।

संगठन विस्तार र नागरिकको गुनासो सुन्ने उद्देश्यले सर्लाहीसहित देशभर एकैसाथ हामी आउँदै छौँ अभियान सुरु भएको रास्वपाले जनाएको छ ।

अभियानका लागि खटिएका सांसदहरुले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले संचालन गरेको ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनौट तथा तयारी प्रक्रियाबारे प्रष्ट पार्ने कामसमेत गरेका छन् ।

बारा ३ बाट सर्लाही खटिएका सांसद अरविन्द साहले दुई दिनको बसाईमा जिल्लामा रास्वपाप्रति आम कार्यकर्ता र सर्वसाधारणको उत्साह देखिएको उल्लेख गरेका छन् ।