logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

५ वटा ट्याक्टरमा बजार भर्न आएकाहरु बाढीमा फसे


  • उज्यालो अभियान

लालबन्दी, १९ असोज – सर्लाहीको सबैभन्दा विकट गाउँको रुपमा परिचित नारायणखोलाबाट आज बिहान दशैँको बजार गर्न भन्दै लालबन्दीतर्फ आएकाहरु बाढीका कारण समस्यामा परेका छन् ।

ट्याक्टर चढेर बिहान सबेरै लालबन्दी बजारतर्फ हिँडेका सयौँ स्थानीयहरु लालबन्दी नगरपालिका-१३ र १४ को सीमास्थित नारायणदोभानमा अकास्मत बाढी आउँदा केही समय अलपत्र परेका हुन् । सडक नपुगेको नारायणखोलामा वर्षात् भएर खोलामा बाढी आइरहेकाले गत साउनदेखि नै बस चलेको छैन् ।

दशैँले छोपिसकेको अवस्थामा बस संचालन हुने छाँटकाँट नदेखिएपछि लालबन्दी नगरपालिका-१४ मा पर्ने नारायणखोलाका स्थानीय खोलाको बगरबाट चल्ने ट्याक्टरमा जोखिमपूर्ण किसिमले लालबन्दी बजार आउजाउ गरिरहेका छन् । आज लालबन्दी हाटबजारको दिन दशैँको किनमेल गर्न नारायणखोलाको लखन्देही र डाइनीखोलातर्फबाट आएका पाँचवटा ट्याक्टर नारायणदोभानमा आइपुग्दा बाढी आएर केही समय अड्किएका नारायणखोलास्थित जनसेवा प्राथमिक विद्यालय सत्रकठ्ठाका प्रधानाध्यापक उत्तरबहादुर गुर्मछानले जानकारी दिए ।

माथि शीरतिर पानी नपरेको तर तल लालबन्दी-१३, पत्थरकोट छेडा गाउँ नजिक आइपुग्दा हिजो रातभर र आज बिहान पनि पानी परेर बाढी आएकाले सिन्धुलीको सीमा नजिकबाट ट्याक्टर चढेर बजार भर्न आएकाहरु प्रभावित बनेका शिक्षक गुर्मछानले सुनाए । टनाटन यात्रु बोकेर आएका केही ट्याटर जोखिम मोलेरै बाढी पार गरेका र केही ट्याक्टर भने पानी घटेपछि लालबन्दी बजारतर्फ झरेका थिए ।

अहिले साँझ बजार गरेर फर्कदाँ पनि खोलामा बाढी आएकाले स्थानीय कष्टपूर्ण किसिमले घर गएका छन् ।

नारायणखोलाको माथिल्लो भेगमा राति पानी नपरेकाले धेरै स्थानीय आज सोमबार लालबन्दी बजारमा दशैँको किनमेल गर्न भन्दै ट्याक्टर चढेर आएका छन् । बिहान एक्कासी बाढी आएपछि मोटरसाइकल चालकहरु भने हतारहतार डाँडातिर मोटरसाइकल चढाएर सुरक्षित भएका छन् ।

लालबन्दी नगरपालिका-१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले भौगोलिक रुपमा असाध्य विकट र ठूलो भू–भागमा फैलिएको नारायणखोलामा वडा वा पालिकाले मात्र चाहेर सडक बनाउन सम्भव नरहेको जानकारी दिए ।

लालबन्दी-नारायणखोला-मरिण रुटमा चल्ने बसका व्यवसायीसमेत रहेका उनले मौसम गडबढ भइरहेकाले खोलाबाट बस सञ्चालन गर्न नसकिएकाले स्थानीयहरु ट्याक्टरमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका बताए ।