logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

अश्लिल भिडियो बनाएर महिलासँग पैसा माग्ने युवक पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १३ असोज – महिलासँग सामाजिक सन्जालमा भिडियो कल गरेर अश्लिल फोटो तथा भिडियो बनाउने एक युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसबरिया गाउँपालिका-३ बस्ने २७ वर्षीय शिवचरण मुखिया रहेका छन् । शिवचरणले चिनजान तथा नाता सम्वन्धको आधारमा विश्वासमा पारी ह्वार्टस्यापमा पटकपटक भिडियो कल गरी महिलासँग अश्लिल कुराकानी गरेर भिडियो बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सोही अश्लिल भिडियो सामाजिक सन्जालमा पोष्ट गरिदिने तथा पीडितका परिवार र आफन्तलाई पठाइदिने धम्की दिइ ५० हजार रुपियाँ माग गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । शिवचरणले महिलालाई शरीरको कपडा हटाउन लगाएरसमेत अश्लिल भिडियो बनाएको पाइएको डिएसपी गौतमले बताए ।

पीडितको उजुरीपछि शिवचरणलाई पक्राउ गरी विद्युतीय कारोवार ऐन अन्तर्गत साइबर अपराधमा सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।