logo
  • मङ्लबार, अशोज २०, २०८३ / Tuesday, Oct, 06 ,2026

हरिवन–३ डाबरीमा भव्य दुर्गा पूजा मेला हुँदै


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/हरिवन, १८ असोज – हिन्दुहरूको महान् चाड विजया दशमीको अवसरमा सर्लाहीको हरिवन नगरपालिका-३ डाबरी बजारमा भव्य दुर्गा पूजा तथा मेला आयोजना हुने भएको छ ।

दुर्गा पूजा मेला समितिका अनुसार असोज २५ गते कलश यात्रासहित मेला शुभारम्भ गरिनेछ । असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्म मैथिली समुदायको मौलिक झिझिया नृत्यसहित विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ ।

मेलालाई व्यवस्थित र भव्य बनाउन हरिवन नगरपालिका–३ ले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । त्यस्तै, स्थानीय व्यक्ति, विभिन्न संघ-संस्था तथा शुभेच्छुकहरूबाट समेत आर्थिक सहयोग संकलन भइरहेको मेला समितिले जनाएको छ ।

मेला सञ्चालनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको दुर्गा मेला समितिका अध्यक्ष ईश्वरमान लोप्चनले जानकारी दिए । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै दशैंको अवसरमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको उनले बताए ।

मेलामा स्थानीय तथा मैथिली समुदायका सांस्कृतिक प्रस्तुति, झिझिया नृत्यलगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय बासिन्दासँगै आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरेको स्थानिय स्वास्थ्यकर्मि राम बिश्वास साहले बताए ।