मलंगवा, १९ असोज – सर्लाही सदरमुकाम मलंगवाका विभिन्न सरकारी कार्यालयहरुमा आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले छड्के अनुगमन गरेका छन् ।
कार्यालयहरुको सेवा प्रवाह, कर्मचारीको समय पालन, कार्यालय पोसाकको प्रयोग तथा प्रशासनिक व्यवस्थापनको स्थितिबारे जानकारी लिने र सुशासन कायम गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी सुवेदीद्वारा कार्यालयहरुको छड्के अनुगमन गरिएको हो । सुवेदीले मलंगवामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, स्वास्थ्य कार्यालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय र यातायात व्यवस्था कार्यालयको छड्के अनुगमन तथा निरीक्षण गर्नुभएको जिल्ला प्रशासन कार्यालयले जनायो ।
अनुगमनको क्रममा केही कार्यालयमा सेवाग्राहीको चाप रहने समयमासमेत कर्मचारीहरु बिना सूचना वा पूर्वस्वीकृति कार्यालयमा अनुपस्थित रहेको, निर्धारित पोसाक नलगाएको, अनुशासनमा कमी भएकोलगायतका कमजोरी देखिएको छ ।
सिडिओ सुवेदीले अनुगमन गरिएका कार्यालयका प्रमुखहरुलाई समयमा अनुपस्थित रहेका तथा तोकिएको कार्यालय पोसाक नलगाइ सेवामा खटिएका सम्वन्धित कर्मचारीलाई तत्कालै नियमानुसार एक पटकका लागि स्पष्टीकरण सोध्न र भविष्यमा यस्ता गल्ती दोहो¥याएरमा प्रचलित कानून बमोजिम कारवाही गर्न निर्देशन दिएका छन् ।