लालबन्दी, १४ असोज – सर्लाहीको लालबन्दी नगरपालिका-२, नेत्रगन्ज पुनर्वासमा १८ वर्षअघि गोली प्रहार गरी एक व्यक्तिको हत्यामा संलग्न अभियुक्त अहिले आएर पक्राउ परेका छन् ।
२०६५ साल फागुन १२ गते साबिकको नेत्रगन्ज गाविस २ बस्ने विरेन पासवानको गोली हानी हत्या भएको घटनामा संलग्न लालबन्दी नगरपालिका-२, नेत्रगन्ज पुनर्वासका इन्दल पासवान अहिले पक्राउ परेका हुन् । विरेनलाई त्यसबेला चिताइन मेला हेर्न जाँदा रातको समयमा गोली प्रहार गरी हत्या भएको थियो ।
अहिले पक्राउ परेका इन्दलले हातहतियार खरखजना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट छ वर्ष कैद र ६० हजार रुपियाँ जरिवाना भुक्तान गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इन्दलविरुद्ध महोत्तरी र धनुषा जिल्लामा चोरी तथा डाँका मुद्दासमेत चलेको पाइएको छ ।
गोली हानी हत्या भएको घटनादेखि नै फरार रहेका इन्दललाई गाउँबाटै पक्राउ गरी ईलाका प्रहरी कार्यालय हरिपुरले आवश्यक अनुसन्धान गरेर सर्लाही जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । यस्तै सर्लाही प्रहरीले जेनजी आन्दोलनको क्रममा फरार रहेका डाँका, चोरी हातहतियार तथा खरखजाना मुद्दाका एक कैदीबन्दीलाई बुधबार पक्राउ गरेको छ ।
जेनजी आन्दोलनमा झुम्का कारागार सुनसरीबाट फरार हुन सफल भएका लालबन्दी नगरपालिका–१ का प्रेमप्रसाद पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
पासवानलाई कैद भुक्तानका लागि सर्लाही जिल्ला अदालतमा बुझाइएको डिएसपी गौतमले बताए ।