मलंगवा, ११ असोज – सर्लाहीमा गएराति देखि अविरल वर्षा भइरहँदा सदरमुकाम मलङ्गवासहित विभिन्न भू-भाग जलमग्न बनेको छ ।
भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । सदरमुकाम मलङ्गवाका अधिकांश क्षेत्रमा वर्षात्को पानी जमेर जलमग्न भएको स्थानीय वासिन्दा शिवचन्द्र चौधरीले जानकारी दिए ।
मलङ्गवास्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशन डुबानमा पर्दा सदरमुकामसहित जिल्लाको दक्षिणी भेगका १० भन्दा बढी पालिकामा आज बिहानैदेखि विद्युत अवरुद्ध बनेको छ । भारी वर्षापछि जिल्लाको पूर्वी भेगस्थित हरिपुर्वासहितको क्षेत्रमा घरहरुमा पानी पसेको हरिपुर्वाका स्थानीय मुकेश झाले जानकारी दिए ।

निरन्तर पानी परिरहँदा बागमती, लखन्देहीलगायतका खोलामा बाढी बढेको छ । लालबन्दी नगरपालिका-१४, नारायणखोलाका शिक्षक कर्ण घिसिङले आज बिहानदेखि लखन्देहीमा बाढी बढिरहेको जानकारी दिए ।
ठुलो पानी पर्दा कच्ची घरहरु भत्कन थालेका छन् । अविरल वर्षापछि चन्द्रनगर गाउँपालिका-१, किसनपुरमा आज बिहान रोहित पासवानको घर भत्किएपछि तत्कालै त्रिपालसहितका राहत सामग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

वर्षाले पाक्न लागेको धान बाली, तरकारीलगायतका बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् । लालबन्दी नगरपालिका-१५, रुन्चे बजारका विवेक बम्जनले गएराति मध्यरातदेखि भारी वर्षाका कारण पाक्न लागेको धान बालीमा व्यापक क्षति गरेको गुनासो गरेका छन् ।
निरन्तर वर्षा भइरहेकाले बागमती नदीसहितका खोलाहरुमा बाढी बढ्ने र डुबानको समस्या आइपर्न सक्ने भएकाले उच्च सतर्कता अपनाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।

सर्लाहीमा बुधबार साँझदेखि शुक्रबार रातिसम्म निरन्तर झरी परेर हिजो दिनभर मौसम सफा भएको थियो ।
मध्यरातिदेखि पुनः भारी वर्षा सुरु भएपछि जनजीवन कष्टकर बनेको छ ।
आज अहिलेसम्म निरन्तर ठुलो पानी परिरहेकाले अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु प्रभावित बनेका छन् ।

पानी परिरहँदा तरकारी व्यापार, अन्य व्यापार व्यवसाय सबै प्रभावित बनिरहेको विभिन्न ठाउँबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।
ठुलो पानी परिरहेका पूर्वपश्चिम महेन्द्र राजमार्गसहित अन्य सडकहरु असाध्य खाल्टाखुल्टी र जलमग्न हुँदा आउजाउमा समस्या परेको छ ।
