लालबन्दी, १४ असोज – सर्लाहीमा असोजमै बाक्लो हुस्सु लाग्न थालेको छ ।
मङ्सिर पुसमा झैँ डम्म हुस्सु लागेर मधेशको मौसम प्रतिकूल बनेको हो । यहाँ आज बिहानैदेखि नजिकैको दृश्यसमेत नदेखिने गरी बाक्लो मात्रामा हुस्सु लागिरहेको छ ।
यस्तो प्रकारको मौसम देखेर अधिकांश मानिस आश्चर्यमा परेका छन् ।
सर्लाहीको चुरेवर्ती क्षेत्रमा भने बिहान पातलो मात्रामा लागेको हुस्सु हटेर घाम देखा पर्न थालेको स्थानीयले जानकारी दिएका छन् ।
मधेश क्षेत्रमा बिहानीपख बाक्लो मात्रामा हुस्सु लागेर छपक्क शीत परे पनि दिउँसोपख भने टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी महसुस हुने गरेको छ । रातको समयमा चिसो पस्न थालेको छ ।
गर्मी हटेर क्रमिक रुपमा चिसो बढ्दै जाँदा मानिसमा मौसम परिवर्तनजन्य ज्वरो, रुघाखोकी, टाइफाइडलगायतका सङ्क्रमण बढेको छ । यो समयमा बालबालिकासहित शारीरिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई मौसमजन्य सङ्क्रमण देखा परिहाल्ने भएकाले सावधानी अपनाउन चिकित्सकको आग्रह छ ।
यस्तै बाक्लो मात्रामा हुस्सु लागेका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग, हुलाकी सडकसहित दक्षिणी भेगका अन्य सडकमा सवारी साधन बत्ती बालेर गुडिरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले हुस्सु लागेको समयमा भिजिबिलिट कम भइ सवारी दुर्घटनाको जोखिम हुने भएकाले सावधानीपूर्वक सवारी चलाउन र यात्रा गर्न आग्रह गरेको छ ।