logo
  • शुक्रबार, अशोज १६, २०८३ / Friday, Oct, 02 ,2026

गोताखोरले पनि फेला पारेन छित्नुलाई, भोली पुनः खोजिने


  • उज्यालो अभियान

फाइल तस्बिर ।

मलंगवा, १२ असोज – सर्लाहीको गोडैता नगरपालिका-१ बहादुरपुरमा आज दिउँसोदेखि सोतीखोलामा डुबेर बेपत्ता छित्नु साहलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले समेत फेला पार्न सकेन् ।

गाउँलेसहित स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा छित्नुको अवस्था थाहा हुन नसकेपछि सशस्त्र प्रहरी बल नेपालको बर्दिवासस्थित बाहिनीबाट तालिम प्राप्त टोलीसमेत झिकाइएको थियो । उक्त टोलीले साँझ अबेरसम्म खोजी गर्दा पनि छित्नुलाई फेला पार्न सकेन् ।

रात परेपछि आज खोजी स्थगित गरिएको र भोली बिहानैदेखि पुनः खोजी सुरु गरिने सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले अहिले राति उज्यालो अभियानसँग बताए । उनले भने, अध्यारो भएपछि खोजी स्थगित गरिएको हो, भोली फेरि बिहानैदेखि खोजी सुरु भइहाल्छ ।

गाउँकै एक व्यक्तिको मलामी गएका ७० वर्षीय छित्नु दाहसंस्कार सकेपछि नुहाउन लाग्दा खोलामा डुबेर बेपत्ता भएका हुन् । सोती खोलाको पानी जमेर दह बनेको स्थानमा वृद्ध डुबेका गाउँलेले बताएका छन् ।

४ दिनसम्म भएको वर्षात्‌पछि सर्लाहीमा अहिले खोलाखोल्सा, खेत, कुलो, नहर, खाल्डो सबैतिर पानी जमेकाले साबधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।