बहादुरपुर, १३ असोज – गोडैता नगरपालिका-१, बहादुरपुरमा खोलाले बगाएर बेपत्ता वृद्धको खोजीका लागि आएको सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली आज बिहान फर्किएको छ ।
सीमावर्ती क्षेत्रस्थित बहादुरपुर गाउँका ६० वर्षीय छितनु साह तेली हिजो मध्याह्नदेखि सोरमखोलाले बगाएर बेपत्ता छन् । मलामी जानुभएका साह दाहसंस्कार सकेर नुहाउनेक्रममा बेपत्ता भएपछि गाउँले, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा फेला नपरेपश्चात बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपालको नं. २ बाहिनीबाट गोताखोर टोली बोलाइएको थियो ।
गोताखोर टोलीले गएराति ८ बजेसम्म र आज बिहान ६ बजेदेखि १० बजेसम्म खोजी गर्दासमेत बेपत्ता वृद्धको अवस्था पत्ता लाग्न नसकेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले जानकारी दिए ।
सामान्यतया पानीमा डुबेकाहरुको घाम अस्ताएपछि खोजी कार्य स्थगित गर्ने गरिए पनि बेपत्ता वृद्धको खोजीका लागि भने गएराति ८ बजेसम्म गोताखोर टोली परिचालन भएको थियो । बहादुरपुरका वडाध्यक्ष सोजित महतोका अनुसार वृद्धलाई खोलाले बगाएको स्थानमा पानी जमेर दह बनेको छ ।
वृद्ध खोलामा डुब्ने बित्तिकैदेखि गाउँले र सुरक्षाकर्मीले निरन्तर खोजी गरे पनि अवस्था पत्ता लगाउनै नसकिएको वडाध्यक्ष महतोले उज्यालो अभियानसँग बताएका छन् ।