फाइल तस्बिर ।
हरिवन , ११ असोज – किसानले यो वर्ष उखुको मुल्य प्रतिक्विन्टल एक हजार २५ रुपियाँ कायम गर्नुपर्ने माग गरेका छन् ।
उखु किसानको छाता सङ्गठन नेपाल उखु उत्पादक महासंघको सर्लाहीस्थित हरिवनमा सम्पन्न बैठकले उखु क्रसिङ सिजन २०८३/०८४ का लागि उखुको प्रतिक्विन्टल मुल्य अनुदानसहित एक हजार २५ रुपियाँ कायम गर्न माग गर्ने निर्णय गरेको हो । किसानले गत वर्षको तुलनामा ३३५ रुपियाँ बढाउनुपर्ने माग राखेका हुन् ।
गत वर्ष उखुको मुल्य प्रतिक्विन्टल ६९० रुपियाँ रहेको थियो । यो वर्ष चिनीको मुल्य बढेको, कृषि श्रमिकको ज्याला बढेको, इन्धन महँगो भएको र मलखादसमेत कालोबजारीमा किनेर हाल्नु परेकोलगायतका आधारसहित उखुको मुल्य कायम गर्न माग गरिएको अगुवा उखु किसान राजकुमार उप्रेतीले बताए ।
किसानले उखुको मुल्य प्रतिक्विन्टल एक हजार २५ रुपियाँ कायम गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउँदै कृषि मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । हरिवनमा बसेको बैठकले उखु किसानका प्रतिनिधि, उद्योगी र सरकारबिच त्रिपक्षीय वार्ता गरेर मात्र उखुको मुल्य कायम गर्न माग गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष श्यामबाबु रायले जानकारी दिए ।
अब दशैँ, तीहार लगत्तै चिनी मिलहरु सञ्चालनको सुरसार हुने भएकाले जतिसक्दो चाँडो र आफूहरुको माग अनुसार उखुको मुल्य तोक्न किसानले माग गरेका छन् । यो वर्षका लागि उखुको मुल्य निर्धारण गर्नका लागि आवश्यक सर्भे गर्न भन्दै सरकारले केही साताअघि प्राविधिकसहितको टोली उखु खेती हुने तराईका विभिन्न जिल्लाहरुमा पठाएको थियो ।