रोशनकुमार न्यौपाने/हरिवन, ०९ असोज – सर्लाहीका १३ वटा पालिकामा नेपाली कांग्रेसले सर्वसम्मत रुपमा पार्टीको पालिकास्तरीय कार्य समिति चयन गरेको छ ।
१५ औँ महाधिवेशन अन्तर्गत आजसम्ममा सर्लाहीको क्षेत्र नं. १, ३ र ४ का सम्पूर्ण पालिकामा सहमतिमै गाउँपालिका तथा नगरपालिका कार्य समिति चयन गरिएको हो । क्षेत्र नं. १ को लालबन्दीमा नारायण गुर्मछान, ईश्वरपुरमा नेत्र कार्की, हरिपुरमा सुशील चौधरी र चन्द्रनगरमा श्याम सिंह सभापति रहने गरी कार्य समिति चयन गरिएको छ ।
क्षेत्र नं. ३ को हरिवनमा टिकाजङ्ग थापा, बागमतीमा सुरज सुवेदी, बरहथवामा उपेन्द्र महतो र चक्रघट्टामा रामजी साह सभापति रहने गरी कार्य समिति चुनिएको छ । त्यस्तै क्षेत्र नं. ४ को बसबरियामा लालबाबु महतो, धनकौलमा अमरेन्द्र साह, गोडैतामा अरविन्द पटेल, रामनगरमा रामकेवल साह र बलरामा पङ्कज सिंह सभापति रहने गरी नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न गरिएको छ ।
सबै स्थानमा सभापतिसहित एक भन्दा बढी आकांक्षी रहे पनि निरन्तर छलफल र सम्वादबाट अन्तिममा निर्विरोध कार्य समिति चयन गरिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले उज्यालो अभियानसँग बताएका छन् ।
पालिकास्तरसम्म सर्वसम्मत नेतृत्व चयन भएको सर्लाही १, ३ र ४ मा अब शनिबार क्षेत्रीय अधिवेशन गरिँदै छ । क्षेत्रीय अधिवेशनबाट १५ औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिसमेत चुनिने छन् । क्रियाशील सदस्यता विवादले सर्लाही २ मा भने वडा अविधेशन नै हुन सकेको छैन् ।
क्षेत्र नं. २ मा विवाद यथावत्
सर्लाही २ मा कांग्रेसका पूर्व जिल्ला सभापति द्वय नागेन्द्र कुमार र लक्ष्मण राय पक्षबिच क्रियाशील सदस्यताको विषयमा विवाद कायमै छ ।
क्षेत्र नं. २ का सभापति कौशलकिशोर रायले अधिवेशन नै हुन नदिएर क्षेत्र नं. २ लाई १५ औँ महाधिवेशनबाट बञ्चित गर्ने प्रयास भइरहेको उज्यालो अभियानसँग बताए । जनकपुरमा दुवै पक्षबिच कुरा भए पनि सहमति जुटेको छैन् ।
विवादका कारण क्षेत्र नं. २ को मलङ्गवा, कविलासी, हरिपुर्वा, पर्सा, ब्रह्मपुरी, विष्णु र कौडेना गरी सातवटा पालिकामा अधिवेशन नै हुन सकेको छैन् ।