लालबन्दी, ०८ असोज – सर्लाहीमा आज बिहानैदेखि सिमसिमे पानी परिरहेको छ ।
यहाँ यसअघि हिजो अपरान्हपख पनि उत्तरी भेगका केही ठाउँमा आरीघोप्टे वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान अनुसार मौसम प्रतिकूल बनेर वर्षा सुरु भएपछि सर्वसाधारणमा त्रास देखिएको छ ।
ठूलो पानी परेर पाक्न लागेको धान बाली, व्यावसायिक रुपमा गरिएको तरकारी खेतीलगायतमा क्षति गर्ने हो की भन्ने चिन्ता किसानमा देखिन्छ । पानी परेर खोलामा बाढी आएपछि चुरेवर्ती क्षेत्रमा खोलाबाट पैदल हिँड्ने तथा मोटरसाइकल, जीप, ट्याक्टरलगायत सवारी साधन ठप्प भएका लालबन्दी नगरपालिका–१४, नारायणखोलाका भिमबहादुर पाख्रिनले जानकारी दिए ।
पानी परेर शित्तल भई गर्मीबाट राहत मिलेपनि स्थानीयमा बाढी तथा डुबानको त्रास सिर्जना भएको हो । वर्षापश्चात जताततै सडक हिलाम्मे र जलमग्न बनेका छन् । बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके, चापिनी, झिम, हर्दी, मनुष्मारालगायतका खोलामा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन नदी तटिय क्षेत्रका वासिन्दालाई आग्रह गरिएको छ ।
यसैबिच, मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षाको आँकलन गरेपछि सर्लाहीमा आज जिल्ला विपत् न्यूनिकरण तथा व्यवस्थापन समितिको बैठक बसेको छ । मलंगवामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा विपत्को सम्वन्धमा बैठक बसेको हो ।
बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म नदी किनारका सडकहरुमा तथा अत्यावश्यक कामबाहेक रातको समयमा लामो यात्रा नगर्न सर्वसाधारणलाई सूचित गर्ने, नदी तथा खोला किनारका बस्तीमा स्थानीय तहका प्रतिनिधि, विपत् व्यवस्थापन स्वयंसेवक तथा नजिकका प्रहरी इकाइले तत्काल खटिएर माइकिङमार्फत बाढीको जोखिमबारे पूर्वजानकारी गराउने र सुरक्षित स्थानतर्फ जान अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा स्थानीय विपत् व्यवस्थापन समिति र जिल्लास्थित सुरक्षा निकायले आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहने, जिल्लाका उद्योगबाट उत्पादन हुने दालमोठ, चामल, चिउरा, चिनी, खानेपानीलगायतका सामग्री असोज ९ गतेदेखि ११ गतेसम्म जिल्ला बाहिर नपठाइ जिल्लामै होल्ड गरेर राख्ने, नदी किनार वा बाढी डुबानको जोखिममा पर्न सक्ने विद्यालयहरुमा स्थानीय तहले औचित्यताको आधारमा सार्वजनिक बिदा दिने, राजनीतिक दलले आफ्नो स्थानीयस्तरका समितिलाई सर्कुलर गरी जनतालाई सतर्क र सजग रहन सूचना सप्रेषण गर्नेलगायतका निर्णय भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मधेशप्रदेशको सर्लाहीमा समेत भारी वर्षाको आँकलन गरेरकाले आज जिल्लाका पालिकाका प्रमुख, कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधि, विपत्को क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई बोलाएर बैठक गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले जानकारी दिए ।