हरिवन, ०६ असोज – मधेश प्रदेशकै प्रतिष्ठित सहकारी संस्थाको रुपमा स्थापित हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको आज २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हरिवन ९ मा रहेको चतुर्भूजेश्वर मन्दिर परिसरमा संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता तथा ज्येष्ठ सदस्य ९३ वर्षीया टीकालक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाको गत आर्थिक वर्षको आम्दानी तथा खर्च अनुमोदनसहित आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

संस्थाको कूल कारोवार एक अर्ब ८९ करोड ८६ लाख १८ हजार ६२५ रुपैयाँ पुगेको साधारण सभामा जानकारी गराइएको छ । संस्थाले गत आर्थिक वर्षमा दुई करोड ५८ लाख ५२ हजार १७८ रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ । कार्यक्रममा संंस्थाका सचिब विनाेद कार्कीकाे सञ्चालन रहेकाे थियाे । साधारण सभाकै अवसरमा संस्थाले कार्यक्रमस्थलमै आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जना पुरुष र २० जना महिलाले रक्तदान गरेका संस्थाका प्रवन्धक रविन्द्र रानाले जानकारी दिए ।
