logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

हरिपुरमा आइतबार पनि बिदा


  • उज्यालो अभियान

हरिपुर, ३० साउन – सर्लाहीको हरिपुर नगरपालिकाले आगामी आइतबार (भदौ १ गते) नगरभित्र सार्वजनिक बिदा दिएको छ ।

नगरप्रमुख गोपाल पजियारले आज सूचना जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार पनि नगरभित्र सार्वजनिक बिदा दिइएको उल्लेख गरेका हुन् । श्रीकृष्ण जन्माष्टमी पर्व शनिबार मनाइँदै छ ।

कृष्णाष्टमीको अवसरमा नगरका विभिन्न स्थानमा मेला लाग्ने भएकाले आइतबार थप एक दिन बिदा दिने निर्णय भएको नगरप्रमुख पजियारले जानकारी दिए । उनका अनुसार आइतबार नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, आकस्मिकबाहेक स्वास्थ्य संस्थालगायत नगरपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द रहने छन् ।

सर्लाहीमा श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसँग मनाउने तयारी भइरहेको छ ।

पर्व मनाउनेक्रममा विवाद हुन सक्ने सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न स्थानमा सुरक्षा सतर्कता अपनाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।