लालबन्दी – सर्लाहीमा आज पनि बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागेको छ ।
उत्तरी भेगका लालबन्दी, नवलपुर, हरिवन लगायतको क्षेत्रमा हुस्सु हटेर विस्तारै घाम लाग्न थालेपछि दक्षिणी भेगमा भने बाक्लो हुस्सु लागि नै रहेको त्यस क्षेत्रबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।
निरन्तरको चिसोले जिल्लाभरकै जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा बिहानपख शितलहरसहित बाक्लो हुस्सु लाग्ने गरेको छ भने दिउँसोपख मौसम सफा भइ घाम लाग्ने गरेको छ ।
हिजो बिहान बाक्लो हुस्सु लागेपनि दिउँसोपखबाट भने जिल्लाभर नै पारिलो घाम लागेको थियो । सर्लाहीमा उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा अझ बढी हुस्सु लाग्ने गरेको छ ।
उत्तरी भेगमा पारिलो घाम लाग्दा दक्षिणी भेगका कतिपय क्षेत्रमा बाक्लो हुस्सु लाग्ने गरेको स्थानीयले बताएका छन् । हुस्सु लागेकै कारण अहिले पूर्व–पश्चिम राजमार्गसहित अरु भित्री सडकहरुमा सवारी साधन बत्ती बालेर गुडिरहेका छन् ।