logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सयौं सर्वसाधारणले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएको गुनासो


  • उज्यालो अभियान

लालबन्दीमा मतदाता नामावली संकलन गरिँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका विभिन्न ८ पालिकामा १५ दिनसम्म राखिएको मतदाता नामावली संकलन शिविरबाट धेरै मानिस छुटेको व्यापक जनगुनासो आएको छ ।

जिल्लाको लालबन्दी, बागमती, हरिपुर, हरिपूर्वा र ईश्वरपुर नगरपालिका तथा ब्रह्मपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकामा मंसिर १७ गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गरिएको हो । नगरपालिका तथा गाउँपालिकाको केन्द्र अर्थात् कार्यालयमा १५ दिनसम्म बसेको शिविरबाट प्रत्येक पालिकामा ठूलो संख्यामा सर्वसाधारणहरु छुटेको गुनासो आएको हो ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाले आफ्नो नगरपालिकाभित्र मात्रै ५ देखि ७ सय मानिस छुटेका उज्यालो अभियानसँग बताए । उनले नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं. १२ कालिन्जोरको पिपलदमारमा आफूसहित कर्मचारीहरु त्यहीँ पुगेर मतदाता नामावली संकलन गरेको जानकारी दिएका छन् ।

जिल्लाको उत्तरी विकट क्षेत्रका धेरै गाउँका मानिस मतदाता नामावलीमा नाम दर्ता गर्नबाट बञ्चित भएका छन् । १५ दिनसम्म शिविर सञ्चालन हुँदा सबै दिन पालिकाका कार्यालयहरुमा सेवाग्राहीको भीड देखिन्थ्यो ।

लालबन्दी नगरपालिका वडा नं. १५, परवानिपुरका वडाध्यक्ष गोरखबहादुर बलले आफ्नो वडामा ३०÷४० जनाले मात्रै मतदाता नामावलीमा नाम दर्ता गर्न भ्याएका बताए । नगरपालिका वरिपरीकै मानिसको भीडभाड हुने गरेकाले टाढाका मानिसहरु दिनभर लाईनमा बसेर नामावली दर्ता गराउनै नपाएका वडाध्यक्ष बलको भनाई छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ती नै निकालेर अधिकांश सर्वसाधारण नामावली दर्ता गराउनबाट छुटेको भन्दै उनीहरुको नामावली संकलनको व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले निकालेको प्रेस विज्ञप्तीमा लालबन्दी, ईश्वरपुर, हरिवन र बागमतीको चुरेभेगका वासिन्दा मतदाता नामावलीमा नाम दर्ता गराउनबाट बञ्चित भएको उल्लेख गरिएको छ ।

यता, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले भने सेवाग्राहीहरु निरन्तर आइरहँदा पनि केन्द्रकै कार्यक्रमअनुसार १५ दिन मात्रै शिविर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताए । मतदाता नामावलीमा नाम दर्ता गराउन आएका सर्वसाधरण नछुटुन भनेर धेरै ठाउँमा साँझ अबेरसम्म पनि कर्मचारीहरु खटाएर काम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले उज्यालो अभियानसँग सुनाए ।

उनले नागरिकता लिइसकेको जो–कोही व्यक्ति मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुटेको भए जिल्ला प्रशासन कार्यालय मलंगवा वा हरिवन तथा बरहथवामा रहेको ईलाका प्रशासन कार्यालयमा गएर जुनसुकै बेला नामावली दर्ता गराउन सक्ने बताए । भुजेलका अनुसार पुस ४ गतेदेखि आगामी १८ गतेसम्म गोडैता, कविलासी र बलरा नगरपालिका तथा रामनगर, बसबरिया, विष्णु, चक्रघट्टा, कौडेना र धनकौल गाउँपालिकाको केन्द्रमा शिविर संचालन हुने छ ।

मलंगवा, हरिवन र बरहथवा नगरपालिकाको सबालमा त्यहीँ प्रशासन कार्यालय रहेकाले पालिकाको कार्यालयमा शिविर राखिने छैन् ।