पिपरियामा आगलागीमा परेर जलेको पराल ।
पिपरिया – सर्लाहीको लालबन्दी र पिपरियामा मंगलबार दिउँसो भएको आगलागीबाट लाखौँको क्षति भएको छ ।
लालबन्दी नगरपालिका–५, मेजरगन्जमा दिउँसो साँढे ३ बजेतिर स्थानीय मनोज गुप्ताको दुई तले काठको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घरको पूजा कोठामा बिहान पूजा गर्नेक्रममा दियोमा बत्ती बाली छाडेकाले त्यसैबाट आगलागी भएको हो ।
आगलागीबाट कोठामा रहेको दुई वटा बाकसभित्र राखिएको तोल सुन, नगद २ लाख ५० हजार, कपडासहितका सरसामग्री जल्दा साँढे ४ लाख बराबरको क्षति भएको पीडित मनोज गुप्ताले उज्यालो अभियानसँग बताए । आगलागी हुँदा आफू घरमा नरहेको र छरछिमेकी मिलेर निभाइदिएका गुप्ताले बताएका छन् ।
यस्तै, मंगलबार दिउँसो २ बजेतिर सर्लाहीको कविलासी नगरपालिका–१, पिपरीयामा पनि आगलागी भएको छ । थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको हो । आगो निभाउन स्थानीयवासी, प्रहरी र हरिवन नगरपालिकाको दमकललाई झण्डै ३ घण्टा लागेको थियो ।
आगलागीबाट स्थानीय लोचन रायको ४ बिघाको पराल, राजनारायण रायको ५ बिघाको धान सहितको पराल, फुसको कच्ची गोठ, भाग्यनारायण रायको एक बिघाको धान सहितको पराल र उपेन्द्र मण्डलको १५ कठ्ठाको धानसहितको पराल, फुसको गोठ जलेर नष्ट हुँदा चारै जनाको गरी ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रदेश सभा सदस्य बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती लगायतले आगलागीस्थलमै पुगेर पीडित किसानहरुलाई प्रदेश सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएर फर्किएका छन् ।