हरिवन – दुई पक्षकाे विवादका कारण अन्याैलमय बनेकाे नेपाली कांग्रेस सर्लाहीको अधिवेशन हुने भएकाे छ ।
केन्द्रीय निर्वाचन समितीले पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनसम्म सर्लाही कांग्रेसीका दुवै पक्षलाई राखेर वार्ता गराएपछि आज (मंगलबार) दिउँसाे सहमति भएसँगै अधिवेशन हुने भएकाे हाे । दुईपक्ष बीच सहमती भएसँगै सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन केन्द्रीय निर्वाचन समितिले नयाँ निर्वाचन अधिकृतको रुपमा भरत राउतलाई खटाएको छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय तथा पूर्व सभापति लक्ष्मण राय पक्षबीच मतदान अधिकृत खटाउने विषय तथा जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय राख्ने सबालमा विवाद हुँदा कांग्रेस सर्लाहीकाे अधिवेशन प्रकृया अगाडि बढ्न सकेकाे थिएन । दुई पक्षकाे विवादका कारण यसअघि खटिएका जिल्ला निर्वाचन अधिकृतद्वय विनाेद कार्की र दिवाकर राज पाण्डेले जिल्ला अधिवेशन नै गराउन सकेनन् । दुवै पक्षकाे विवादले निर्वाचन गराउन नसक्ने भन्दै कात्तिक २६ गते तत्कालिन निर्वाचन अधिकृत कार्कीले राजिनामा दिएका थिए । लगतै आएका निर्वाचन अधिकृत पाण्डेमाथि त कुटपिट नै भयाे । उनीपनि कात्तिक २ गते कांग्रेसकै एक समुहकाे कुटपिटमा परे र राजिनामा दिएर काठमाडाै फर्किए । पार्टीमा नागेन्द्र संस्थापन पक्षका हुन् भने लक्ष्मण संस्थापन ईतरका हुन् । उनिहरु दुवैजना जिल्ला सभापतिका उम्मेद्वार समेत हुन् ।
जिल्ला अधिवेशन नहुँदा महाधिवेशनमा सहभागिता नै अनिश्चत भएपछि केन्द्रीय निर्वाचन समितिले सर्लाहीका दुवै पक्षका नेताहरुलाइ वार्ताका लागि गत शनिबार काठमाडाैं बाेलाएकाे थियाे । ४ दिनसम्म दुवै पक्षका नेताहरुलाई राखेर केन्द्रीय निर्वाचन समितिले छलफल गराउँदै आज (मंगलबार) सहमतिमा टुंग्याएकाे हाे ।
केन्द्रीय निर्वाचन समिति आफैले क्षेत्र नं. १ का शिक्षक संघमा आवद्द शिक्षकलाई क्षेत्र नं. ३ तथा क्षेत्र नं. ३ कालाई क्षेत्र नम्वर १, क्षेत्र नं. २ कालाई क्षेत्र नंं. ४ र क्षेत्र नं. ४ कालाई क्षेत्र नं. २ मा खटाएको छ । सर्लाहीका २०० वटै वडामा खटिने मतदान अधिकृत पनि केन्द्रीय निर्वाचन समितिले नै खटाएकाे छ । केन्द्रीय निर्वाचन समितिका संयाेजक महादेव यादवले सर्लाहीकाे विवाद मिलेकाे जानकारी दिए । संयाेजक यादवले भने केही विवादित ठाउँमा मात्र केन्द्रबाट मतदान अधिकृत खटाईएकाे दाबी गरे ।
अब जिल्ला निर्वाचन अधिकृत राउतले आफ्ना सहयाेगिका रुपमा ४ वटै क्षेत्रमा खटिने निर्वाचन प्रमुख समेत केन्द्रबाटै वकिलहरु ल्याउने बताईएकाे छ । जिल्ला निर्वाचन अधिकृत कार्यालयमा खटिने जनशक्ति समेत राउतले उतैबाट ल्याउनेछन् ।
जिल्ला सचिब उपेन्द्र प्रसाद कुशवाहाले दुवै पक्षबीच वार्ता मिलेकाे र अब जिल्ला अधिवेशन हुने जानकारी दिए । कुशवाहाका अनुसार दुवै पक्षबीच टसल बढ्दा केन्द्रीय सदस्य जंगिलाल रायले विशेष पहल गरेर दुवै पक्षबीच सहमति गराउन पहल गरेका थिए ।
सहमति भएसँगै अब काँग्रेसको वडा अधिवेशन मंसिर ९ वा १० गते हुने जिल्ला सभापति नागेन्द्र कुमार रायले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए । नयाँ निर्वाचन अधिकृत काठमाडाैंकाे अधिवेशनमा समेत खटिएकाले उनी जति चाँडाे आयाे त्यति चाँडाे अधिवेशन प्रकृया सुरु हुने रायले जानकारी दिए । नयाँ निर्वाचन अधिकृत सर्लाही आएर मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण र कागजात दिनासाथ अधिवेशन प्रक्रिया अघि बढ्ने छ ।
सहमतिसँगै दुवै पक्षका नेताहरु मंगलबार दिउँसाे काठमाडाैंबाट सर्लाहीतर्फ फर्केका छन् । जिल्ला सचिब नवीन अधिकारीले दुवै पक्षबीच सहमति भएकाे र अब नयाँ निर्वाचन अधिकृत जिल्लामा आएसँगै अधिवेशन प्रकृया सुरु हुने जानकारी दिए । समय अभावका कारण सम्भवत: सर्लाहीमा पालिका र जिल्ला अधिवेशन भने हुनेछैन ।
नयाँ ताेकिएका निर्वाचन अधिकृत राउत यसअघि जिल्लामा छ निर्वाचन क्षेत्रबाट चार वटा निर्वाचन क्षेत्र कायम गर्दा कांग्रेस नेताहरुको समायोजनका लागि सर्लाही आएका थिए । उनी सर्लाही निवासी नै हुन् । (पछिल्लाे अपडेट)