logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पूर्व–पश्चिम राजमार्ग मर्मतको माग गर्दै नवलपुरमा चक्काजाम


  • उज्यालो अभियान

नवलपुर, मंसिर २ – पूर्व–पश्चिम राजमार्ग मर्मत गर्न माग गर्दैै सर्लाहीको नवलपुरका स्थानीयले बिहिवार अपरान्ह केहीबेर राजमार्ग बन्द गराएका छन् ।

हाईवे जिर्ण भएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको भन्दै स्थानीयहरुले १५ मिनेट चक्काजाम गरेका हुन् । लालबन्दी नगरपालिका–१, नवलपुरका स्थानीयवासी र व्यापारीहरु मिलेर राजमार्ग बनाउन माग गरिएको स्थानीय व्यवसायी दीपक श्रेष्ठले जानकारी दिए ।

सडकको दायाँबायाँ जोतेर राखिएको र त्यसको मर्मत तथा पानी हाल्न वास्ता नगर्दा धूलोले बस्नै नसक्ने अवस्था रहेको अर्का स्थानीय व्यवसायी अजय श्रेष्ठले बताए । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखले बन्द स्थलबाट प्रहरीसँग गरेको कुराकानीमा तत्कालै सडक मर्मतको काम अघि बढाउने प्रतिवद्धता जनाएपछि स्थानीयले चक्काजाम खुल्न दिएका छन् ।

राजमार्गको धूलोले बस्न र हिँड्डुल गर्नै गाह्रो परेको भन्दै केही दिनअघि हरिवन नगरपालिकास्थित नयाँरोडका स्थानीयले पनि राजमार्ग बन्द गराएका थिए । सर्लाहीमा अहिले पूर्व–पश्चिम राजमार्ग अत्यन्त खराब अवस्थामा छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गमै पर्ने चापिनी र लखन्देही पुलको अवस्था पनि भत्किएर जिर्ण बन्दा सवारी आवागमन प्रभावित भइरहेको छ ।