हरिवन, ०४ असोज – सर्लाहीमा निर्वाचन क्षेत्र नं. २ बाहेक अन्य तीनवटा निर्वाचन क्षेत्रका अधिकांश वडाहरुमा आज नेपाली कांग्रेसले वडा अधिवेशन गरेर वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधी चयन गरेको छ ।
क्षेत्र नं. २ मा भने क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन हुन सकेन् । क्षेत्र नं. २ का क्षेत्रीय सभापति कौशलकिशोर राय र क्षेत्रीय सचिव रामकेबल महतोले आज निर्वाचन अधिकृतलाई पत्र लेख्दै क्षेत्र नं. २ को वडा अधिवेशन रोक्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरेका छन् ।
उनीहरुले षडयन्त्र गरी क्षेत्र नं. २ मा वडा अधिवेशन हुनै नदिने प्रयास भइरहेको आरोप लगाएका छन् । यसअघि क्षेत्र नं. २ कै क्रियाशील सदस्यताको विषयलाई लिएर कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमार र क्षेत्र नं. २ (ख) का क्षेत्रीय सभापति भिखारी ठाकुरले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।
विवादित क्षेत्र नं. २ बाहेक अन्यत्र भने आइतबार साँझसम्ममा शान्तिपूर्ण किसिमले वडा अधिवेशन भएका छन् । कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले क्षेत्र नं. १, ३ र ४ का अधिकांश ठाउँमा सर्वसम्मत रुपमा वडा अधिवेशन गरिएको जानकारी दिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज साँझ जारी गरेको विज्ञप्ती अनुसार सर्लाही २ सहित देशभर विवाद भएका विभिन्न ठाउँमा भोली सोमबार पनि वडा अधिवेशनले निरन्तरता पाउने उल्लेख गरिएको छ ।