गैर, ३० भदौ – नवलपुर-मलङ्गवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका-७, सिर्सियामा मंगलबार साँझ दुईवटा मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।
साँझ पौने ६ बजेतिर कविलासीबाट गैरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-०३३ प ७८२४ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० एपी १२२४ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । दुर्घटनामा मधेश प्रदेश ०३-०३३ प ७८२४ नम्वरको मोटरसाइकलका चालक गोडैता नगरपालिका-६, का ३० वर्षीय सुमित यादव र बीआर ३० एपी १२२४ नम्वरको मोटरसाइकलका चालक कविलासी नगरपालिका-८, का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको प्रहरीले जनायो ।
मोटरसाइकल दुर्घटनामा परेर अचेत भएका दुवै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरे । दुर्घटनामा बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका-८, का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका-६, का १८ वर्षीय बब्लु कुमार घाइते भएका छन् ।
घाइते सुरेन्द्र र बब्लुको अवस्थासमेत गम्भीर छ । उनीहरुलाई मलङ्गवाबाट थप उपचारका लागि जनकपुरतर्फ रेफर गरिएको छ ।
अत्यधिक स्पीडका कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ । दुर्घटनामा परेका मोटरसाइकल कुचिएर कच्याककुचुक भएका छन् ।