गोडैता, ०८ साउन – आफैले शरीरमा पेट्रोल छर्किएर आगो लगाउँदा जलेर मृत्यु भएका विवेक मण्डलको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक सहयोग गरेका छन् ।
सर्लाहीको क्षेत्र नं. ४ अन्तर्गत पर्ने गोडैता नगरपालिका–१०, सिसौटियाका विवेकले असार २६ गते शुक्रबार आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा असार ३० गते कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो ।
मृतक विवेकको परिवारलाई कांग्रेस सभापति थापाले शुक्रबार आफ्नो व्यक्तिगत तर्फबाट एक लाख रुपियाँ सहयोग प्रदान गरेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रको युवा भएकाले सभापति थापाले विवेकको शुक्रबार १३ औँ दिनको पुण्यतिथी पारेर आर्थिक सहयोग गरेका हुन् । सभापति थापाको तर्फबाट नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहसहितका नेताहरुले मृतक विवेकको घरमै पुगेर श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।
विवेकको परिवारलाई दुई दिनअघि सर्लाही ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले पनि नगद १० हजार रुपियाँसहित चामल, दाल, तेललगायतका खाद्यान्न सहयोग गरेका थिए ।