लालबन्दी, ०४ साउन – सर्लाहीमा तरकारी खेती गर्ने किसान अविरल वर्षा र सस्तो मुल्यको मारमा परेका छन् ।
अविरल वर्षाका कारण तरकारी उत्पादन गर्न कठीन भइरहेका बेला बजार भाऊसमेत असाध्य सस्तो हुँदा किसान मर्कामा परेका हुन् । बजारमा हरेक तरकारी सस्तो हुँदा लागत र हैरानीधरी नउठ्ने अवस्था रहेको लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान प्रवीण पौडेलले गुनासो गरेका छन् ।
बजारमा अहिले प्रत्येक तरकारीको मुल्य आधा भन्दा धेरैले घट्दा लगानी कसरी उठाउने भन्ने चिन्ताले सताउने गरेको पौडेलको भनाइ छ । उनले भने, “कामदार, मलखाद र विषादीको मुल्य कहिल्यै घट्दैन्, बरु निरन्तर बढिरहेको छ तर तरकारीको भाउ भने बढ्नुको दिनदिनै घटी रहन्छ ।”
तरकारी खेतीमा लागत र मेहनत अनुसार मुल्य पाउने व्यवस्था नहुँदा किसानलाई खेतीमा टिकिरहन मुस्किल परेको पौडेलले गुनासो गरेका छन् । लालबन्दी थोक तरकारी बजारमा तरकारी बिक्री गर्न ल्याउने हरेक किसान सस्तो मुल्यमा तरकारी बिक्री गर्नुपर्दा निराश भइ घर फर्कने गरेका छन् ।
सर्लाहीका किसानले उत्पादन गरेको हरेक तरकारी अहिले सस्तो छ । किसानसँग थोक व्यापारीले सस्तोमा खरिद गर्ने तरकारी उपभोक्तासम्म पुग्दा भने महँगो भइसकेको हुन्छ ।
यहाँका किसानले उत्पादन गरेको हरियो तरकारीमध्ये अहिले सबैभन्दा बढी मुल्य बोडीको मात्र रहेको छ । किसानले बोडी प्रतिकेजी ६० देखि ७० रुपियाँ बिक्री गरिरहेका छन् ।
सबैभन्दा सस्तो परबल प्रतिकेजी १५ देखि २० रुपियाँमा बिक्री भइरहेको छ । बजारमा परबल अत्यधिक भित्रिएकाले भाऊ सस्तो भएको लालबन्दी थोक तरकारी बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताएका छन् ।
स्थानीय किसानले उत्पादन गरेको भेन्डी प्रतिकेजी २५ देखि ३० रुपियाँ, भान्टा ५० देखि ६० रुपियाँ, घिरौला २० देखि २५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । बिचमा एक साता त तरकारीको मुल्य यो भन्दा पनि सस्तो भएको तर अहिले अविरल वर्षाका कारण उत्पादन घटेकाले मुल्य बढ्न थालेको बजारका व्यवस्थापक घिमिरेले बताएका छन् ।
घिमिरेका अनुसार लालबन्दी बजारबाट दैनिक आठ ट्रकसम्म तरकारी काठमाडौँसहितका सहरमा गइरहेको छ । उनले भने, “पानी पर्ने समयमा तरकारीको मुल्यमा घटबढ भइरहन्छ तर यहाँबाट हुने निर्यात त सामान्य अवस्थामै भइरहेको छ ।”