ईश्वरपुर, ०७ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका १ मा स्थानीय बालबालिकाले बालविवाह र लागुऔषध दुर्व्यसनीविरुद्ध साइकल र्याली निकालेका छन् ।
ग्रामीण नारी उत्थान संघ तथा सेभ द चिड्रेनको सहयोगमा वडा बाल अधिकार समिति र वडा बाल क्लब सञ्जालको आयोजनामा साइकल र्याली निकालिएको हो । यसअघि गत असार २३ गते ईश्वरपुर नगरपालिका ९ मा पनि यस्तै प्रकारको साइकल र्याली निकालिएको थियो ।
वडा नं. १ मा नयाँटोल, राइटरखोर, शकरगन्ज, चौलिखा बजारलगायतका स्थान परिक्रमा गर्दै लागुऔषध दुर्व्यसनी र बालविवाहविरुद्ध सचेतनामूलक प्ले कार्डसहित साइकल र्याली निकालिएको ग्रामीण नारी उत्थान संघकी फिल्ड सुपरभाइजर बिन्दा लुंगेलीले जानकारी दिईन् । लागुऔषध दुर्व्यसनी र बालविवाहविरुद्ध यसअघि चलाइएको अभियान प्रभावकारी देखिएकाले फरक ढंगले साइकल र्याली निकालिएको बालबालिकाले बताएका छन् ।
बालबालिकाले लागुऔषध दुर्व्यसनी र बालविवाह न्यूनिकरणका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाज, महिला सञ्जाल, राजनीतिज्ञ, शिक्षकलगायतसँग समन्वय गरेर अभियान संचालन गर्दै आइरहेका छन् ।