मलंगवा, ०३ साउन – मलंगवास्थित नेपाल टेलिकमको टावरमा गएराति नै चढेका युवकको उद्धार गर्न प्रहरीले प्रयास जारी राखेको छ ।
८० मिटर अग्लो टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम हुसैनलाई तल ओराल्न प्रयास भइरहेको हो । नेपाल दुरुसंचार कार्यालय (टेलिकम) मलङ्गवाका कार्यालय प्रमुख सधुघनकुमार यादवका अनुसार आज बिहान ५ बजेतिर दुई जना युवक आएर आफूहरुको साथी टावरमाथि चढेको छ भन्ने सूचना दिएपछि मात्र घटनबारे जानकारी भएको हो ।
सर्लाही क्याम्पस मलङ्गवामा स्नातक तह अध्ययनरत अफसर आलम हुसैनले सुरुमा आफ्नो प्रेमिकालाई बोलाएपछि मात्र तल झर्ने बताएका टेलिकम कार्यालयका प्रमुख यादवले पत्रकारसँग बताएका छन् ।
युवकलाई सम्झाइबुझाइ गरी तल बोलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले उज्यालो अभियानसँग बताए । अहिले टावर एरियामा ठुलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ छ ।
मलंगवामा पहिलो पटक अनौठो घटना भएकाले हेर्नका लागि स्थानीयको पनि ठुलो भीडभाड लागेको स्थानीय संचारकर्मी अमलेश शर्माले बताए ।