कौडेना, ०२ साउन – प्रहरीले आज सर्लाहीको कौडेना गाउँपालिकास्थित सुखैचना गाउँबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
कौडेना गाउँपालिका–१, सुखचैना गाउँबाट प्रहरीले ४ क्विन्टल १९ केजी ९३ ग्राम गाँजा बरामद गरेको हो । रातिदेखि नै व्यापक मात्रामा परिचालन भएको प्रहरीले सुखचैना गाउँका विभिन्न व्यक्तिका घरका ओछ्यानमुनी लुकाइएको तथा करेसा बारीमा पत्करले छोपेर राखिएको अवस्थामा भारी मात्रामा गाँजा बरामद भएको सर्लाही प्रहरीका डिएसपी वेदप्रसाद गौतमले बताए ।
प्रहरीले गाँजा तौलन प्रयोग गरिएका डिजिटल नापतौल मेसिन चार थान र सानो तराजु एक थान बरामद गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएको छ ।
सुखचैना क्षेत्रमा व्यापक मात्रा गाँजा लुकाएर राखिएको सूचना पाएपछि जिल्ला प्रहरी प्रमुख (एसपी) रविन्द्रनाथ पौडेल, डिएसपी गौतमसहितका प्रहरी अधिकारीहरु ठुलो संख्यामा प्रहरी लिएर पुगेका थिए ।
प्रहरीले गाँजा बरामद भएको घरबाट २ जनालाई नियन्त्रणमा समेत लिएको छ ।
पक्राउ पर्नेमा २५ वर्षीय राहुल राउत र ४६ वर्षीय महादेव राउत रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याएर थप अनुसन्धान गरिरहेको डिएसपी गौतमले उज्यालो अभियानसँग बताए ।