logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जिससद्वारा नगरपालिकातर्फ लालबन्दी र गाउँपालिकातर्फ चन्द्रनगर उत्कृष्ट घोषणा


  • उज्यालो अभियान

मलंगवा, २२ पुस – जिल्ला समन्वय समिति सर्लाहीले जिल्लाका २० पालिकामध्ये अनुकरणीय कार्य गरेको भन्दै दुई पालिकालाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरेको छ ।

पालिकाले गरेको केही उत्कृष्ट कामलाई आधार मानेर नगरपालिकातर्फ लालबन्दी नगरपालिका र गाउँपालिकातर्फ चन्द्रनगर गाउँपालिकालाई छनौट गरिएको हो । जिल्लाभरमा उत्कृष्ट घोषित गरिएका यि पालिकाले अब प्रदेशस्तरमा गएर प्रदेशभरका अन्य उत्कृष्ट पालिकासँगै आफूले गरेका असल कामको प्रस्तुतिकरण गर्नुपर्ने जिल्ला समन्वय समिति सर्लाहीका समन्वय अधिकारी कमलबहादुर कार्कीले जानकारी दिए ।

लालबन्दी मधेशमै स्वास्थ्यतर्फ उत्कृष्ट भइसकेको र चन्द्रनगर गाउँपालिकाले नमूनाको रुपमा मोरिंगा (सोहजन) खेतीको अभियान चलाएकाले यसैलाई मुख्य आधार मानेर जिल्लामा उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो । गएको शुक्रबार सदरमुकाम मलंगवामा भएको ‘जिल्लास्तरमा स्थानीय तहको असल अभ्यास सम्वन्धी अनुभव आदानप्रदान कार्यक्रम’ मा लालबन्दी र चन्द्रनगरको तर्फबाट भएको प्रस्तुति हेर्दा राम्रा कामहरु गरेको पाइएपछि प्रदेशस्तरको कार्यक्रमका लागि जिल्लाबाट छनौट गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहले उज्यालो अभियानसँग बताए ।

सिंहले आ–आफ्नो पालिकाभित्र भएका असल अभ्याससम्वन्धी प्रस्तुतिकरण गर्ने शुक्रबारको उक्त कार्यक्रममा ८ वटा पालिकाहरु भने अटेर गरी सहभागी नै नभएको जानकारी दिएका छन् । लालबन्दी, हरिवन, बलरा, धनकौल र पर्साका प्रमुख प्रशासकीय अधिकृत, कविलासी, ब्रम्हपुरी र चक्रघट्टाका सूचना प्रविधि अधिकारी, हरिपुरका शिक्षा अधिकृत, विष्णुका स्वास्थ्य शाखा प्रमुख, कौडेनाका लेखा शाखा प्रमुख र चन्द्रनगरका रोजगार शाखा प्रमुखले प्रस्तुतिकरण गरेका जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।

मलंगवा, ईश्वरपुर, बागमती, हरिपुर्वा, गोडैता, रामनगर, बसबरिया र बरहथवा नगरपालिकाको तर्फबाट भने प्रस्तुतीकरण नै हुन सकेन ।

उक्त कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले केन्द्रबाटै निर्देशन हुँदा हुँदै जिल्लास्तरको यो कार्यक्रममा प्रस्तुतिकरण गर्न आफू र जिम्मेवार कर्मचारी नपठाउने प्रमुख प्रशासकीय अधिकृतहरुसँग स्पष्टीकरण सोध्ने बताएका थिए ।