logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीमा सार्वजनिक सवारी संचालन हुन थाले, बजार पनि खुल्यो


  • उज्यालो अभियान

लालबन्दी, २८ भदौ – सर्लाहीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन थालेका छन् ।

आजदेखि यहाँका सडकमा स्थानीय रुटमा चल्ने भाडाका गाडी निर्वाधरुपमा सञ्चालन हुन थालेका हुन् । मोटरसाइकल, टेम्पु जस्ता सवारी साधन यसअघि नै सञ्चालनमा आइसकेका थिए । पूर्वपश्चिम राजमार्ग र अन्य भित्री सडकमा म्याजिकसहितका अन्य भाडाका गाडी आजदेखि पूर्णरुपमा सञ्चालनमा आउन थालेका हुन् ।

यहाँबाट सङ्घीय राजधानीसम्म चल्ने गाडी पनि आज बिहानदेखि सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् । सङ्घीय राजधानी काठमाडौंमा समेत कफ्र्यू हटाइएपछि आज केही सवारी साधन यात्रु बोकेर काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।

बन्दले गर्दा काठमाडौंमा अलपत्र परेका यात्रु पनि धमाधम घर फर्कन थालेका छन् । काठमाडौंबाट बिहीबार साँझदेखि नै रात्रि बस छुटेर आउन थालेका थिए । गाडी सञ्चालन हुन थालेसँगै अत्यावश्यक काम परेर विभिन्न ठाउँमा पुग्नुपर्ने यात्रुलाई सहज भएको छ ।

सर्लाहीबाट प्रदेश राजधानी जनकपुरसहित वीरगन्ज तथा पूर्व र पश्चिमका विभिन्न ठाउँमा पुग्नुपर्ने गाडी भने फाट्टफुट्ट मात्रै सञ्चालन भएका छन् ।

सर्लाही यातायात सेवा प्रा.लि. का अध्यक्ष दीपलाल महतोले भोलीदेखि सम्पूर्ण बस सञ्चालन हुने उज्यालो अभियानसँग बताए । यस्तै कफ्र्यू आदेश हटेसँगै सर्लाहीमा आजदेखि सबैजसो हाटबजारसमेत खुलेका छन् ।

लालबन्दी, हरिवन, बरहथवा, मलङ्गवा, हरिपुर, बयलवासलगायत सबै बजारका पसल, व्यवसाय पूर्ववत्रुपमा सञ्चालनमा आएका हुन् । सडक, बजारमा सामान्य अवस्थाको झैँ मानिसको चहलपहल देखिन थालेको छ ।