logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

वर्षापछि खराब भए चुरेभेगमा सडकका ट्रयाक (तस्बीरहरु)


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/सन्जु कर्ण/पत्थरकोट, ३० साउन – लगातारको वर्षापछि सर्लाहीको चुरेभेगका सडक अत्यन्त खराब भएका छन् ।

पालिकाहरुले चुरेभेगका बस्तीमा पुर्याएका सडकका ट्रयाक लगातार पानी परेपछि खराब अवस्थामा पुगेका हुन् । चुरेपाखाबाट तल फेदीसम्म झर्ने कच्ची सडक ठाउँठाउँमा भास्सिने, पहिलो खसेर अवरुद्ध हुने र बगेर गएको स्थानीयले बताएका छन् ।

हिउँदयाममा मोटरसाइकल सहजै चढ्ने चुरेपाखाको सडकमा अहिले पैदल हिँड्नसमेत समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । चुरेवर्ती क्षेत्रको ईश्वरपुर नगरपालिका–१२, लालबन्दी नगरपालिका–१२, १३, १४ र १५, हरिवन नगरपालिका–१ र बागमती नगरपालिका–१ मा पर्ने चुरेबस्तीमा यस प्रकारको समस्या देखा परेको हो ।

ईश्वरपुर नगरपालिका–१२, गुइडुङका वीरबहादुर थिङले चुरेपाखाबाट तल फेदीसम्म झर्ने ट्रयाक सडक ठाउँठाउँमा भल बगेर बगाएका कारण आउजाउ गर्न समस्या परेको गुनासो गरेका छन् । वर्षायामको समयमा जहिल्यै यसैगरी सडक खराब हुने र हिउँद लागेपछि गाउँले मिलेर मर्मतसम्भार गरी हिँड्ने र मोटरसाइकल चल्ने बनाउँदै आएको थिङले बताए ।

जिल्लाकै सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलासम्म जान पत्थरकोट छेडा गाउँदेखि खनिएको सडक दर्जनौँ स्थानमा बगाएको छ । खोलामा बाढी आउँदा नगरपालिकाले खनिरहेको चुरेपाखाको सडकको ट्रयाकबाट हिँड्ने गरेको भएपनि दुई सातादेखिको वर्षापछि बाटो असाध्य खराब भएको नारायणखोलास्थित हात्तेसुँढे गाउँका वीरबहादुर लो तामाङले जानकारी दिए ।

पाखाको बाटो खराब हुँदा पैदल हिँडेर आउनसमेत डरमर्दो रहेको तामाङको भनाइ छ । पालिकाहरुले चुरेभेगका वासिन्दाको सहजताका लागि चुरेपहाड फोडेर पुर्याएका सडक मर्मत सम्भार नगरी संचालन नहुने अवस्था रहेको स्थानीयले बताएका छन् ।

यहाँको लालबन्दी, हरिवन र बागमती बजारबाट चुरेभेगमा जाने अधिकांश कच्ची सडकमा अहिले मोटरसाइकलधरी चल्दैनन् । बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले पानी पर्न रोकिएर एक पटक मर्मत नगर्दासम्म चुरेभेगका बस्तीमा जाने धेरै सडक खराब भएका बताए ।

संघ तथा प्रदेश सरकार, सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बजेट विनियोजन गरेर ठाउँठाउँमा ढलान गर्ने, ढुङ्गा भर्ने काम गरेका कारण हरिवन बजारदेखि सिन्धुलीको क्यानखोलासम्म पुग्ने सडक भने सञ्चालनमै रहेको हरिवन नगरपालिका–१, का वडाध्यक्ष टमबहादुर तामाङले जानकारी बताए ।