logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मारेको ६ वटा दुम्सीसहित बाँके–लक्ष्मीनियाँ जंगलबाट ४ जना पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, २९ साउन – पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके–लक्ष्मीनियाँ जङ्गल क्षेत्रबाट गएराति मारेको छ वटा दुम्सीसहित चार जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख (डिएफओ) सन्तोषकुमार झाको टोलीले राजमार्गमा यात्राको क्रममा दुईवटा मोटसाइकलमा लिएर हिँड्दै गरेको अवस्थामा माउ र बच्चा गरी छ वटा मारेको दुम्सीसहित चार जनालाई पक्राउ गरेको हो । दुम्सीको शिकारमा प्रयोग भएको कोदालो, बेल्चा, खन्ती र हँसिया समेत वन प्रमुखसहितको टोलीले नियन्त्रणमा लिएको छ ।

उक्त क्षेत्र महोत्तरीतर्फ पर्ने भएकाले पक्राउ परेका व्यक्ति, मारेको दुम्सी, मोटरसाइकल र हतियार राति नै सवडिभिजन वन कार्यालय लक्ष्मीनियाँ महोत्तरीमा बुझाइएको सर्लाहीका डिभिजन वन प्रमुख झाले बताए । लक्ष्मीनियाँमा प्रारम्भिक बयान लिँदा उक्त दुम्सी धनुषाको जङ्गल क्षेत्रमा मारेको बताएपछि महोत्तरीले फेरि धनुषा वन कार्यालयलाई बुझाएको छ ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख बेचन चौधरीले आफूहरुले समेत सोधपुछ गर्दा महोत्तरीकै जङ्गलमा दुम्सी मारेको खुल्न आएकाले पक्राउ परेका व्यक्तिसहितलाई आज फेरि महोत्तरी वन कार्यालयमै फिर्ता पठाउने तयारी भइरहेको बताए । पक्राउ परेका व्यक्ति यसै क्षेत्रका नट समुदायका रहेको हुनसक्ने वन कर्मचारीले बताएका छन् । उनीहरु विदेशी नागरिक भए थप कडा किसिमको कारवाही हुने धनुषाका डिएफओ चौधरीले बताए ।

मानिसको चहलपहल कम हुने सर्लाहीको फूलजोर चोकदेखि पूर्व र महोत्तरीको बर्दिवासदेखि पश्चिमतर्फको घना जङ्गल क्षेत्रमा वन्यजन्तुको चोरी, शिकारी हुँदै आएको छ ।