logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा मध्यरातसम्म मतपेटिका बुझ्ने काम जारी


  • उज्यालो अभियान

क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय हरिवनमा आईतबार राती ल्याईएका मतपेटिका बुझ्दै कर्मचारीहरु ।

क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय हरिवनमा आईतबार राती मतपेटिका बोकेर आएका सवारी साधन ।

मलंगवा – प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सर्लाहीमा आईतबार साँझ ५ बजे मतदानको काम सम्पन्न भएको छ । बिहान ७ बजे सूरु भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न भएको हो । हालसम्म प्राप्त प्रारम्भिक तथ्यांक अनुसार सर्लाहीमा ६२ प्रतिशत मत खसेको छ ।

मतदान केन्द्रबाट ल्याईएका मतपेटिका सबारी साधनबाट झारिँदै ।

मतदान सकिए लगतै मतपेटिका सिल गर्ने, मुचुल्का उठाउने लगायत कार्य सकेर मतदान अधिकृतहरुले धमाधम मतपेटिकाहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईरहेका छन् । अहिले राती पौने १२ बजे यो समाचार तयार पार्दासम्म पनि जिल्ला स्थित ४ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयहरुमा मतदान अधिकृत, सुरक्षाकर्मी एवं राजनैतिक दलका प्रतिनिधि सम्मिलित टोलीसँग मतपेटिका बुझ्ने काम चलिरहेको छ । क्षेत्र नम्बर १ को लालबन्दी नगरपालिका अन्तर्गत साबिक नारायणखोला र परवानीपुर गाविस तथा ईश्वरपुर नगरपालिका अन्तर्गत कालिञ्जोर गाविस अन्तर्गतका मतदान केन्द्र भौगोलिक रुपमा साह्रै विकट रहेकाले मतपेटिका आउनै ढिलाई भएको थियो ।

मतदान केन्द्रबाट ल्याईएका मतपेटिका बुझ्ने काम हुदै ।

जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले ४ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतहरुसँग मतपेटिका तथा आवश्यक अन्य कागजपत्र बुझ्ने काम जारी रहेको जानकारी दिए । सर्लाहीको लालबन्दीमा क्षेत्र नम्बर १ को, मलंगवामा क्षेत्र नम्बर २ को, हरिवनमा क्षेत्र नम्बर ३ को र गोडैतामा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय रहेको छ । जिल्ला निर्वाचन अधिकारी पोखरेलका अनुसार हालसम्म प्राप्त जानकारी अनुसार सर्लाहीमा ६२ प्रतिशत मत खसेको छ । ‘हालसम्म ईन्ट्री भएको तथ्यांक हेर्दा ६२ प्रतिशत हाराहारी मत खसेको देखिन्छ’, जिल्ला निर्वाचन अधिकारी पोखरेलले उज्यालो अभियानसँग भने, ‘निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका बुझाउने क्रम अहिले पनि चलिरहेको छ, सम्पूर्ण मतपेटिका बुझेर ईन्ट्रीको कार्य सम्पन्न भएपछि मात्र कति मत खस्यो भन्ने एकीन हुन्छ ।’

एकसाथ मतपेटिका लिएर मतदान अधिकृतहरुको भिड लागेपछि सिमित स्रोत साधन र जनशक्ति रहेको निर्वाचन अधिकृतको कार्यालयहरुमा प्रकृया पुर्याएर मतपेटिका बुझ्ने कार्यमा ढिलाई भईरहेको छ । आईतबार साँझदेखि राती अबेरसम्म मतपेटिका बुझाएर फर्किने तथा लिएर आउने सवारी साधनको जामले निर्वाचन अधिकृतको कार्यालय आसपास सबारी जामले अत्यन्त अस्तव्यस्त बनेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका बुझ्ने कार्य सक्नै सोमबार बिहान ३ बजेसम्म लाग्न सक्नै एक सुरक्षा अधिकारीले जानकारी दिए । मतपेटिका बुझ्ने कार्यमै निकै लामो समय अर्थात राती ३ बजेसम्म चल्ने भएकाले मतगणनाको कार्य सोमबार बिहान ७–८ बजेबाट मात्र सूरु हुने ती सुरक्षा अधिकारीको अनुमान छ । निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका बुझ्ने काम सम्पन्न भएपछि सर्वदलीय छलफल गर्ने लगायत प्रकृया पुर्याएर मात्र मतगणनाको काम सूरु हुने जिल्ला निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए ।

सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् । जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान भएको हो । प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना उम्मेदवार चुनावी दौडमा छन् । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

यस पटकको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सामान्य बाहेक कुनै अपृय घटना नभएको प्रजिअ गौतमको दाबी छ ।

सर्लाहीमा अहिलेसम्म ५५ प्रतिशत मत खस्याे

सर्लाहीकाे बागमती र बलराबाट ´फर्जी` मत खसाल्न खाेज्ने दुईजना पक्राउ

धनकाैलमा शान्तिपूर्ण मतदान, ८८ % मत खसिसक्याे (फाेटाे फिचर)

सर्लाहीमा शान्तिपूर्ण रुपमा मतदान जारी (फाेटाे फिचर)

← Back

Thank you for your response. ✨