बागमतीकाे धरहरा स्थित जन बालकल्याण मावि मतदान केन्द्रमा मत खसाल्दै एक महिला । (तस्बिर : उज्यालाे अभियान)
मलंगवा – प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत आईतबार दिउँसाे ३ बजेसम्म ५५ प्रतिशत मत खसेकाे छ ।
सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी दौडमा छन् ।
जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान भईरहेकाे छ । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे छ ।
यसअघिका हरेक निर्वाचन अन्तर्गत मतदानका दिन ४ नम्बर क्षेत्रमा दुई पक्षबीच झडप हुने गाेली चल्ने र सर्वसाधारणकाे ज्यान नै जाने गरि घटनाहरु हुने गरेपनि याे पटक भने अहिले दिउँसाे ३ बजेसम्म शान्तिपूर्ण रुपमा मतदान कार्य चलिरहेकाे छ । यसपटक सुरक्षा व्यवस्थामा निकै नै चुस्तदुरुस्त पारिएकाे र कुनै अपृय घटना नभएकाे प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिए । अघिल्ला चुनावहरुकाे तुलनामा यसपटक नेपाली सेनाले समेत गस्तीमा निकै नै सकृयता बढाएकाे एक सुरक्षा अधिकारीले दाबी गरे । सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी समेत व्यापक परिचालन गरिएकाे छ ।